एमालेको ११औं महाधिवेशनमा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं : एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा हस्ताक्षरित सूचना अनुसार पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका पदहरूमा उम्मेदवारी परेको छ।
सार्वजनिक नामावली अनुसार पार्टीको मूल नेतृत्व (अध्यक्ष) पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल बीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ।
पार्टीको कार्यकारी पद मानिने महासचिवमा पनि निर्वाचन हुने भएको छ। महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे को उम्मेदवारी परेको छ।
त्यस्तै, ६ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। जसमा: अरुण नेपाल, गुरु प्रसाद बराल, गोकर्ण विष्ट, टंक कार्की, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, रघुजी पन्त लगायत ११ जनाको नाम सूचीकृत छ।
उपमहासचिवमा तीन जनाको लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्र गौतम, लेखराज भट्ट र विष्णु रिमाल गरी ६ जनाको उम्मेदवारी परेको छ।
सचिव पदका लागि गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत २० जनाको नाम सूचीमा रहेको छ।
महाधिवेशनमा भूगोलतर्फ सातै प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) बाट खुल्ला, महिला र युवा कोटामा उम्मेदवारी परेको छ।
त्यस्तै, समावेशीतर्फ आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, पिछडिएको क्षेत्र र अपाङ्गता भएका क्षेत्रबाट केन्द्रीय सदस्यका लागि उल्लेख्य उम्मेदवारी परेको आयोगले जनाएको छ।
खुल्ला केन्द्रीय सदस्य पदका लागि पनि अग्नी खरेलदेखि होमबहादुर थापासम्मका दर्जनौँ नेताहरू प्रतिस्पर्धामा छन्।
केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी र लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेलको नाम प्रारम्भिक सूचीमा प्रकाशित भएको छ।
निर्वाचन आयोगले प्रकाशित नामावली उपर कुनै दाबी विरोध वा संशोधन भए तोकिएको समय सीमाभित्र उजुरी वा संशोधनको सूचना दर्ता गर्न समेत सूचित गरेको छ।
हेर्नुहोस् पूरा सूची:
पुष १, २०८२ मंगलबार ०९:२३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।