उपमेयरकै संलग्नतामा बैंकका कर्मचारी बन्धक, लिलामी रोक्ने पत्र नलेखे ज्यान मार्ने धम्की
काठमाडौं : कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न भन्दै बोलाएर ऋणीले ज्योति विकास बैंकका कर्मचारीहरूलाई घण्टौंसम्म बन्धक बनाई ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ।
यस घटनामा सप्तकोशी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीकोको समेत संलग्नता रहेको बैंकले जनाएको छ।
बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिका सञ्चालक र उनीहरूका सहयोगीले बैंकका दुई कर्मचारीलाई नियन्त्रणमा लिई सांघातिक आक्रमण गरेका हुन्।
उपमेयरको संलग्नता, लिलामी रोक्न बाध्य पारियो
बैंकका अनुसार छलफलका लागि भन्दै क्षेत्रीय कार्यालय बर्दिबासका दुई कर्मचारीलाई फार्म रहेको स्थानमा बोलाइएको थियो।
त्यहाँ पुग्नासाथ ऋणी, उनका परिवारका सदस्य र बहालवाला उपमेयरसहितको समूहले कर्मचारीलाई नियन्त्रणमा लिएको बैंकको दाबी छ।
विज्ञप्तिमा भनिएको छ, ‘अपराधिक मनोवृत्तिले सुनियोजित ढंगबाट घण्टौंसम्म आफ्नो नियन्त्रणमा लिई बहालवाला उपमेयर समेतको संलग्नतामा भएको यो घटना अत्यन्त खेदजनक छ।’
प्रहरीले सहयोग नगरेपछि बाध्यतामा पत्र
कर्मचारीलाई नियन्त्रणमा लिएर सो समूहले धितो लिलामी प्रक्रिया तत्काल रोक्ने निर्णय लिखित रूपमा केन्द्रबाट मगाउन दबाब दिएको थियो। बैंकले सुरक्षा निकायलाई खबर गर्दा पनि कुनै सहयोग नपाएको गुनासो गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘लिखित पत्र उपलब्ध नगराएमा ज्यान लिने धम्की दिएको अवस्थामा सुरक्षा निकायबाट कुनै सहयोग नपाएपछि बैंकलाई विकल्पविहीन अवस्थामा बाध्य भएर उक्त पत्र लेख्नुपरेको थियो।’
आरोपबारे बुझ्न उपमेयर चौधरीलाई पटक-पटक फोन गर्दा पनि फोन उठेन।
भएको के थियो?
गत मंसिर २४ गते ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्मका सञ्चालकहरूले ‘परामर्श’ का लागि भन्दै कर्मचारी बोलाएका थिए। तर, सोही क्रममा कर्मचारीमाथि कुटपिट भएको हो।
बैंक तथा वित्तीय संस्थाहरूका छाता संगठनहरूले यसअघि नै विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरिसकेका छन् भने स्थानीय प्रहरी प्रशासनले जाहेरी दर्ता गर्न नमानेकोमा आपत्ति जनाएका छन्।
बैंकले आफ्ना कर्मचारीमाथि ज्यानै लिने उद्देश्यले आक्रमण गर्ने र बन्धक बनाउने कार्यमा संलग्न दोषीहरूमाथि कडा कारबाहीको माग गरेको छ।
मंसिर २९, २०८२ सोमबार २१:३२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।