एमाले महाधिवेशनस्थलमा ईश्वर पोखरेलको पक्षमा चर्को नाराबाजी
काठमाडौं : ११ औँ महाधिवेशनस्थल भृकुटीमण्डपबाट बाहिर निस्कनेक्रममा एमाले अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलको पक्षमा चर्को नाराबाजी लाग्यो। उनी महाधिवेशनस्थलबाट केही सहयोगी सहित बाहिर निस्कनेक्रममा कसैले "मिलेर जानुहोस् कमरेड" भनेका थिए।
लगत्तै उनको पक्षमा महाधिवेशनस्थल बाहिर रहेका कार्यकर्ताले "नेकपा एमाले के भन्छ, ईश्वर पोखरेल ले भन्छ" भन्दै नारा र हुटिङ गरेका थिए।
सोमबार ११ औँ महाधिवेशनबाट निर्वाचित हुन केपी शर्मा ओली र पोखरेल दुवैले प्यानलै बनाएर उम्मेदवारी दिएका थिए। केपी ओलीको प्यानलमा पर्न नसकेका केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। ओली प्यानलमा नपरेपछि कृष्णगोपाल श्रेष्ठ गुट बदलेर पोखरेलको समूहमा गए। रघुजी पन्तले भने उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए।
पुस १ मा नेतृत्वका लागि मतदान हुँदैछ।
मंसिर २९, २०८२ सोमबार १९:५५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।