टुँडिखेलमा बालेन र सुनिताको ‘हस्पिटालिटी’ : प्रधानसेनापतिसँग कानेखुसी, बिदाइअघि राष्ट्रपतिले सम्झाए
काठमाडौं : काठमाडौं महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो।
मुलुकका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोह जति औपचारिक थियो, कार्यक्रम सकिएपछि अतिथिको बिदाइका क्रममा देखिएका दृश्यहरू भने उति नै रोचक र अर्थपूर्ण।
समारोह सकिएपछि महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र उप-प्रमुख सुनिता डंगोल विशिष्ट अतिथिहरूलाई बिदाइ गर्न व्यस्त देखिए। यसैक्रममा प्रधानसेनापतिदेखि राष्ट्रपतिसम्मका ‘बडी ल्याङ्ग्वेज’ले धेरैको ध्यान तान्यो।
समारोहबाट बाहिरिने क्रममा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र मेयर बालेनबीचको छोटो भेट भयो। बिदाइका लागि उभिएका मेयर बालेनसँग नजिकिँदै प्रधानसेनापति सिग्देलले केही कानेखुसी गरे।
सार्वजनिक कार्यक्रमहरूमा विरलै देखिने यस्तो अनौपचारिक र गोप्य संवादमा बालेनले पनि सहमति जनाएजस्तो प्रतिक्रिया दिएका थिए। उनीहरूबीच के कुराकानी भयो उनीहरू नै जानुन्, तर उक्त दृश्यले क्यामेराहरूको ध्यान भने राम्रै गरी खिच्यो।
राष्ट्रपतिसामु ‘असल विद्यार्थी’ झैँ बालेन-सुनिता
समारोहका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल बाहिरिने क्रममा पनि अर्को रोचक दृश्य देखियो। गाडी चढ्नुअघि राष्ट्रपति पौडेलले मेयर शाह र उपमेयर डंगोललाई रोकेर करिब २० सेकेन्ड जति कुराकानी गरे।
त्यसक्रममा राष्ट्रपतिले निकै गम्भीर मुद्रामा केही सम्झाइरहेको देखिन्थ्यो भने बालेन र सुनिताले ‘असल विद्यार्थी’ ले झैँ टाउको हल्लाएर राष्ट्रपतिका कुरा सुनिरहेका थिए। राष्ट्रपतिको अभिभावकीय सुझावलाई उनीहरूले विनम्रतापूर्वक ग्रहण गरेको उनीहरूको शारीरिक हाउभाउबाट प्रष्ट हुन्थ्यो।
राष्ट्रपति र प्रधानसेनापति बाहेक अन्य विशिष्ट अतिथिहरूलाई पनि मेयर र उपमेयरले शिष्टतापूर्वक बिदाइ गरे। उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्ष बाहिरिँदा शाह र डंगोलले औपचारिक रूपमा हात जोडेर बिदाइ गरे।
यस्तै, समारोहमा सहभागी मन्त्रीहरूलाई बिदाइ गर्ने क्रममा भने मेयर र उपमेयरले थप तदारुकता देखाए। मन्त्रीहरूको गाडी आइपुग्न केही ढिला भएपछि बालेन र सुनिता मन्त्रीहरू उभिएकै ठाउँसम्म पुगेर उनीहरूसँग भलाकुसारी गर्दै बिदाइ गरे।
देशका सबैजसो ‘भीभीआईपी’ हरूको उपस्थिति रहेको महानगर दिवसको समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको अनुपस्थिति भने खट्किएको थियो। अन्य सबै निकायका प्रमुखहरू टुँडिखेल पुग्दा कार्यकारी प्रमुख प्रधानमन्त्री कार्की भने समारोहमा देखिइनन्।
पछिल्लो समय व्यक्तिगत रूपमा पनि प्रधानमन्त्री कार्की र मेयर बालेनबीचको सम्बन्ध सुमधुर नै मानिन्छ। कार्कीले बालेनलाई ‘छोरा’ भन्ने गरेकी छन् भने बालेनले ‘दिदी’ सम्बोधन गर्ने गरेका छन्। यस्तो सम्बन्ध हुँदा हुँदै पनि उनी कार्यक्रममा अनुपस्थित हुँदा केही अड्कलबाजी भने भएका छन्।
मंसिर २९, २०८२ सोमबार १९:१२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।