थिति बसाल्न 'रिङ' बाहिर भएका ज्ञवालीको निष्कर्ष : ओलीको व्यवहार डरलाग्दो

थिति बसाल्न 'रिङ' बाहिर भएका ज्ञवालीको निष्कर्ष : ओलीको व्यवहार डरलाग्दो

काठमाडौं : एमाले उपाध्यक्ष युवराज ज्ञवालीले लोकतान्त्रिक विधि र थिति बसाल्न आफूले पार्टीको कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्ञवालीले एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नहुने पार्टी विधानको मर्म विपरीत नेतृत्व अघि बढेकोमा असन्तुष्टि जनाए।

‘लोकतन्त्रमा कुनै पनि कार्यकारी पदमा एउटै व्यक्ति लामो समय रहनु हुँदैन, यसले लोकतन्त्रलाई सुदृढ गर्दैन,’ ज्ञवालीले भने, ‘पार्टीको नवौं र दशौं महाधिवेशनबाट हामीले कार्यकारी पदमा दुई पटकभन्दा बढी नउठ्ने प्रस्ताव पास गरेका थियौं। तर बीचमा कसको स्वार्थका लागि यो नियम तोडमोड गरियो, त्यो उनीहरूले नै जानुन्।’

दुई कार्यकाल उपाध्यक्ष भइसकेकोले आफूसँग अबको विकल्प अध्यक्ष बन्ने मात्र रहेको हुँदा कार्यकारी जिम्मेवारीबाट अहिले बिदा लिएको उनले स्पष्ट पारे। अध्यक्षमा ईश्वर पोखरेललाई समर्थन गर्ने निर्णय लिएकाले आफू पुनः उपाध्यक्ष वा अन्य पदमा नदोहोरिने उनले बताए। 

‘उपाध्यक्षमा तेस्रो पटक उठ्नुपर्छ भन्ने कुरा म मान्दिनँ,’ उनले भने, ‘मैले अध्यक्षमा ईश्वर पोखरेललाई अगाडि बढ्नुस् भनेर सल्लाह र समर्थन दिइसकेको छु।’ ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीलाई पद छाडेर अभिभावकको भूमिकामा बस्न आफूले आग्रह गरेको पनि बताए।

‘तपाईं ११ वर्ष अध्यक्ष र ४ पटक प्रधानमन्त्री भइसक्नुभयो, अब संरक्षक बन्नुस् भनेर मैले बैठकमा लिखित र मौखिक रूपमै भनेको हुँ,’ ज्ञवालीले भने। तर, अध्यक्ष ओलीले ‘गर्न सक्दासम्म बसिरहने’ जवाफ दिएको उनले बताए। ज्ञवालीले भने, ‘उहाँको यस्तो कुरा सुन्दा झन् डरमर्नु अवस्था देखियो।’

अरूले विधान मिचे पनि आफूले लोकतान्त्रिक मान्यता स्थापित गर्न पद त्याग गरेको उनको भनाइ छ। आफू शारीरिक र मानसिक रूपमा पूर्ण स्वस्थ रहेको र निराश भएर नभई विधि स्थापित गर्न पछि हटेको उनको दाबी छ। ज्ञवालीले अब आफू पार्टीको सल्लाहकार भूमिकामा रहने, लेखन तथा प्रशिक्षण कार्यमा सक्रिय हुने जानकारी दिए।

मंसिर २९, २०८२ सोमबार १६:४८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।