ओली प्यानलमा तीन नेताको विद्रोह, कृष्णगोपालले गुटै छाडे, प्रदीप ज्ञवाली घर हिँडे, राजेन्द्रको स्वतन्त्र उम्मेदवारी
काठमाडौं : एमालेको ११ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले उम्मेदवारी दर्ता गरे। दुवै समूह प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धाको तयारीमा रहेको बेलामा ओली समूहमा भने विद्रोह र असन्तुष्टि देखियो।
स्थायी समिति सदस्य राजेन्द्र गौतमले ओली समूहमा उपमहासचिवमा ठाउँ नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। महासचिवमा दावेदारी पेस गर्दै आएका प्रदीप ज्ञवालीलाई उपाध्यक्ष पदको प्रस्ताव आएपछि उनले अस्वीकार गर्दै बरु केन्द्रीय सदस्य मात्रै बन्ने भन्दै घर हिँडेको घोषणा गरे।
ओलीले महासचिवमा शंकर पोखरेललाई नै अगाडि बढाउँदै अर्का आकाङ्क्षी पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षमा प्रस्ताव गरे। गुरुङले स्वीकार गरे पनि ज्ञवालीले भने स्वीकार गरेनन्। उपाध्यक्ष भन्दा बरु केन्द्रीय सदस्य नै ठिक भन्दै उनी महाधिवेशनस्थलबाट बाहिरिए।
ओलीलाई साथ दिँदै आएका कृष्णगोपाल श्रेष्ठ प्यानलमा सचिवमा अटाएनन्। ओली समूहमा नअटाएपछि उनी समूह बदलेर ईश्वर पोखरेलको समूहबाट सचिवको उम्मेदवार बन्ने भएका छन्। उनले आफूमाथि निरन्तर अन्याय भएको दाबी गर्दै ओली समूह छाडेको घोषणा गरे।
एमालेको भावी नेतृत्वका लागि पुस १ मा मतदान हुँदैछ। अहिले दुवै समूहले प्यानल अनुसार उम्मेदवारी दर्ता गरिरहेका छन्।
मंसिर २९, २०८२ सोमबार १५:५५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।