हुन्डीमा ठूला कम्पनी : एजेन्टले खुलाए इसेवादेखि आइएमइसम्मको अपराध

हुन्डीमा ठूला कम्पनी : एजेन्टले खुलाए इसेवादेखि आइएमइसम्मको अपराध

काठमाडौं : इसेवा मनी ट्रान्सफरदेखि आइएमइसम्मका लागि भारतबाट हुन्डी गरेर नेपालमा पैसा ल्याउन संलग्न रामबाबु जयसवालले भारतबाट मात्र  ९२ करोड रकम लुकाएर नेपाल भित्र्याएको खुलेको छ। प्रभु म्यानेजमेन्टमा भएको ठगीको सम्बन्धमा अनुसन्धान गर्दा पक्राउ परेका जयसवालको बयानबाट उनले ६ वर्षको अवधिमा सो रकम हुन्डी गरेर नेपाल ल्याएर इसेवा मनी ट्रान्सफर, प्रभु र आइएमइ लगायतका मनी ट्रान्सफरको खातामा राखिदिएको खुलेको हो।

उनले बयानमा नेपालमा रेमिटेन्स कारोबार गर्ने इसेवा, प्रभु अनि आइएमइको कम्पनीको खातामा रकम जम्मा गरेको खुलाउपछि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले थप अनुसन्धान गरिरहेको छ।

उनले नेपालमा वैध रूपमा मनि ट्रान्सफरको अनुमति पाएका ठुला कम्पनीसँगै सहकारी, साना मनी ट्रान्सफरदेखि व्यक्तिको फर्म र केही व्यक्तिको खातामा समेत रकम जम्मा गरिदिएको बयानमा खुलेको छ। उनको बयानमा पोलिएका इ-सेवा र आइएमइ नेपालका ठुला रेमिट कम्पनी हुन्। उनको बयानबाट यी कम्पनीहरूले समेत रेमिटको आवरणमा हुन्डीको कारोबार गर्ने गरेको देखिन्छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उनले दिएको बयानमा भारतबाट एक लाख रकम अवैध रूपमा नेपाल भित्र्याएर भारतमा रहेका हुन्डीका मुख्य कारोबारीले टिपाएको बैंक खातामा राखिदिए बापत एक लाख बराबर आफूले २५० रुपैयाँ कमिसन पाउने गरेको बयानमा खुलाएका छन्।

उनले आफ्नो बयानमा यसरी भारतबाट मोटरसाइकलको डिक्कीमा रकम लुकाएर नेपाल ल्याए बापत हालसम्म आफूले २३ लाख कमिसन कमाएको खुलाएका छन्। त्यस अनुसार उनले यो ६ वर्षको बिचमा ९२ करोड बराबरको रकम हुन्डी गरेको देखिन्छ। उनको बयानको आधारमा  प्रभुविरुद्ध हुन्डी गरेको अभियोगसहित मुद्दा दायर भइसकेको छ। अन्य कम्पनीहरूबारे भने अनुसन्धान भइरहेको र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान केन्द्रित भएको सिआइबीले जानकारी दिएको छ।

हुन्डीका सहयोगी रामबाबुको बयान

मेरो ससुराली भारतको बिहारको पूर्वी चम्पारन जिल्ला, धपधपवा भन्ने ठाउँमा पर्छ। त्यो स्थान बारामा रहेको मेरो घरबाट करिब २१ किलो मिटरको दुरीमा पर्छ। करिब ५/६ वर्ष अघि म भारतमा रहेको ससुराली गएको बेलामा हरिस जयसवाल भन्ने भारतीय नागरिकसँग भेट भयो।

उनले मलाई नेपाली नगद रुपैयाँ उपलब्ध गराउने, मैले सो रकम उनले उपलब्ध गराएको नेपालस्थित विभिन्न व्यक्ति तथा कम्पनीको नाममा रहेका खाताहरूमा जम्मा गरी दिएमा १ लाखको २५० रुपैयाँ कमिसन पाउने प्रस्ताव गरे। मैले उनको प्रस्ताव स्वीकार गरेँ।

त्यही समयदेखि उनीसँग मेरो सम्पर्क भयो र मोबाइल नम्बर आदान प्रदान भयो। हामीबीच ह्वाट्सएपमा कुराकानी हुन्थ्यो। उनको प्रस्ताव अनुसार ५/६ वर्ष अघिदेखि उनले मलाई ह्वाट्सएपमा सम्पर्क गरेर उनको घरमा बोलाउँथे र पैसा दिन्थे। म मोटरसाइकलमा जान्थेँ।

उनले दिने नेपाली रुपैयाँ मोटरसाइकलको डिक्कीमा राखेर नेपाल आउँथे। पैसा पठाएपछि मात्र उनले ह्वाट्सएपमा सो रकम कुन व्यक्ति र संस्थाको खातामा जम्मा गरिदिने हो सो विवरण ह्वाट्सएपमै पठाउँथे।

उनले उपलब्ध गराएको खातावालाको नाम र खाता नम्बरमा मैले भने अनुसार पैसा जम्मा गर्थेँ। त्यो बापत मैले प्रति १ लाख रुपैयाँको २५० रुपैयाँ कमिसन पाउँथे। प्रभु म्यानेजमेन्ट प्रालिको नाममा सिटिजन्स बैंकमा रहेको खातामा मेरो नामबाट जम्मा भएको रकम यसरी नै आएको रकम हो।

हरिस जयसवालले मलाई एक पटकमा कम्तीमा १० लाखदेखि बढीमा १७ लाख नेपाली रुपैयाँसम्म दिन्थे। त्यो पैसा एक हजार पाँच सयको नोटको हुन्थ्यो। म त्यो रकम मेरो मोटर साइकल (मधेस प्रदेश, ०३-०२८ प ३४६५ नम्बर) को सिट मुनी लुकाएर नेपाल लिएर आउँथे।

मैले हरिस जयसवालको निर्देशन अनुसार रकम जम्मा गर्दा B & S SUB REMITANCE/ RAMBABU PRASAD JAISWAL उल्लेख गर्ने गरेको थिएँ।

हरिस जयसवालले मलाई दिएको रकम मैले कसैलाई नगदै दिएको छैन। हरिस जयसवालको निर्देशन अनुसार प्रभुसँगै आइपे रेमिट प्रालि, इसेवा मनी ट्रान्सफर प्रालि, आइएमइ लिमिटेड, सिटी एक्सप्रेस, जिएमइ रेमिट प्रालि, पेवेलको खाताहरूमा राखेँ।

यसैगरि मा छिन्नमस्ता इन्टरप्राइज, सजिलोपे, जलथल मनी ट्रान्सफर, रिया ट्रेडर्स, श्रीकृष्ण रेमिटेन्स सेन्टर, एमइ डिजिटल सोलुसन, आकाश इन्टरप्राइज, रामप्रित मेमोरियल मनी ट्रान्सफर, सद्गुरु ट्रेडर्स, सिटी मार्केट सेभिङ एन्ड क्रेडिट सहकारी, गुल्सन गोला स्टोर्स, एटी मनी ट्रान्सफर, एन्टीभाइरस सप्लायर्स, अभियान्सु किराना पसल, बाबा धिवर इन्टरप्राइज,दुर्लभ ट्रेडर्स, मनिषकुमारी साह, नेहाकुमारी साह, सुरज गुरागाईँ समेतका व्यक्ति तथा कम्पनी/ फर्महरू समेतको खातामा रकम जम्मा गरी दिएँ।

मैले हरिस जयसवालसँग भारतबाट नेपाली नगदै रकम लिएर नेपाल आएर व्यक्ति, कम्पनी तथा फर्मको खातामा रकम जम्मा गरेको हो। मैले हालसम्म करिब २२/२३ लाख जति आर्थिक लाभ लिएँ। हरिस जयसवालले मलाई सुरुमा प्रस्ताव गरे बमोजिम १ लाखको २५० उपलब्ध गराउँथे। उक्त रकम निजले मलाई नगदै दिन्थे।

त्यही आम्दानीबाट मैले मेरी श्रीमती ममता देवी जयसवालको नाममा रजिस्ट्रेसन पास गरी २०७८ सालमा बाराको महागढीमाई नगरपालिका, वडा नम्बर ५, बगडमपुरमा १० धुर जग्गा १० लाखमा किनेर त्यही जग्गामा करिब १०/११ लाख खर्च गरेर घर बनाएँ।

मंसिर २९, २०८२ सोमबार १४:४६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।