एमाले महाधिवेशन : ओली र पोखरेलको प्यानल तयार, कुन समूहमा को-को अटाए ?

एमाले महाधिवेशन : ओली र पोखरेलको प्यानल तयार, कुन समूहमा को-को अटाए ?

काठमाडौं : एमालेको जारी ११औँ महाधिवेशन नेतृत्व चयनको लागि चुनावी माहोलमा प्रवेश गरेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ-आफ्नो समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन्।

दुवै नेताले आफ्नो समूहको पदाधिकारीमा उम्मेदवार छनोट अन्तिम चरणमा पुर्याएका छन्। प्राप्त विवरण अनुसार १९ जना पदाधिकारी सबैमा दुवै समूहबाट उम्मेदवार छनोट भएका छन्।

केपी शर्मा ओली समूह :
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने प्यानलमा महासचिव पदमा शंकर पोखरेल दोहोरिने निश्चित भएको छ। ओली समूहले उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लगाएको छ। नेता प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राख्ने तयारी भए पनि उनीसँगको छलफल निष्कर्षमा पुगिसकेको छैन।

यस्तै, उपमहासचिवमा लेखराज भट्ट, विष्णु रिमाल र रघुवीर महासेठको नाम अघि सारिएको छ। ९ जना सचिव पदका लागि भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा र यामलाल कँडेलको नाम टुंगो लागेको छ।

ईश्वर पोखरेल समूह :

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने तयारीसँगै आफ्नो प्यानल खडा गरेका छन्। पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम अगाडि सारिएको छ। उपाध्यक्षमा पर्शुमेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपाल र गोकर्ण विष्टको नाम चर्चामा छ। 

यस्तै, उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरीलाई अघि सारिएको छ। सचिव पदका लागि इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, ठाकुरप्रसाद गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल, रचना खड्का र डा. कृष्ण केसीको नाम तयार पारिएको छ।

उम्मेदवार छनोटको लागि दुवै समूह अझै छलफलमै छन्। कतिपय पदमा नेताहरुबीच अझै कुरा मिलिसकेको अवस्था छैन। अध्यक्ष ओलीलाई आफ्नो समूहमा नेताहरू व्यवस्थापनमा समस्या देखिएको छ।

एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ। दुवै समूहको प्यानलमा नपरेका कतिपय आकाङ्क्षीहरू स्वतन्त्र उम्मेदवारी दिने तयारी छन्। अन्तिम नामावली प्रकाशन र उम्मेदवारी दर्ताको प्रक्रिया बाँकी नै रहेकाले समीकरणमा केही फेरबदल हुन सक्ने नेताहरूले बताएका छन्।

महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार मतदान पुस १ गते मंगलबार हुनेछ। प्रतिनिधिहरूले बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्न पाउनेछन्।

मंसिर २९, २०८२ सोमबार १४:४६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।