यु-१९ एसिया कप : नेपालको ब्याटिङ ध्वस्त, बंगलादेशलाई १३१ रनको सामान्य लक्ष्य
एजेन्सी : एसीसी यु-१९ एसिया कप अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले टेस्ट राष्ट्र बंगलादेशसामु जितका लागि १३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
दुबईस्थित ‘द सेभेन्स स्टेडियम’ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३१.१ ओभरमा १३० रनमै अलआउट भयो। नेपालको ब्याटिङ इनिङ निकै धरमराएको थियो।
नेपालका लागि तल्लो क्रमका ब्याटर अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए। उनले ४३ बलमा २ छक्का प्रहार गरे। यस्तै, विकेटकिपर आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन बनाए।
यी बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालले अतिरिक्त रुपमा २३ रन पाएको थियो।
सुरुवातमा ४० रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदा ६१ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो।
८१ रनमा छैटौं विकेट गुमाएको नेपालका लागि आशिष र अभिषेकले केही साझेदारी गर्दै टोलीलाई १०० रन कटाएका थिए।
नेपाललाई सस्तैमा समेट्न बंगलादेशका बलर मो. सबुजले सर्वाधिक ३ विकेट लिए। यस्तै, साद इस्लाम, अजिजुल हाकिम र सहरीयार अहमदले समान २-२ विकेट लिए भने सहरीया अल-अमिनले १ विकेट हात पारे।
१३१ रनको लक्ष्य पछ्याउँदै बंगलादेशले जवाफी ब्याटिङ थालिसकेको छ। यो समाचार तयार पार्दासम्म बंगलादेशले १.२ ओभरमा कुनै विकेट नगुमाइ १० रन बनाएको छ।
क्रिजमा जवाज अबरार (३) र रिफात बेग (५) रनमा खेलिरहेका छन्। बंगलादेशलाई जितका लागि अब ४८.४ ओभरमा १२१ रन आवश्यक छ।
मंसिर २९, २०८२ सोमबार १४:०७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।