एमाले महाधिवेशनमा पदाधिकारीको उम्मेदवारी शुल्क १५ हजार, केन्द्रीय सदस्यको पाँच हजार
काठमाडौं : एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ११औं महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया उत्साहपूर्ण रूपमा अघि बढेको र भोलि नै मतदान गराउने तयारी रहेको बताएका छन्।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले निर्वाचन आयोगले तोकेको समयतालिका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको जानकारी दिए।
नेता गौतमले निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि तोकेको दस्तुरबारे जानकारी गराएका छन्। जसअनुसार अध्यक्षदेखि पदाधिकारीसम्मको उम्मेदवारी शुल्क १५ हजार, केन्द्रीय कमिटी सदस्यको ५ हजार र उम्मेदवारी फारम शुल्क एक सय रुपैयाँ रहेको बताए।
गौतमले भने, ‘महाधिवेशन व्यवस्थापनमा केही योगदान होस् भन्ने हिसाबले यो दस्तुर तोकिएको हो। साथीहरूले उत्साहपूर्वक लाइनमा बसेर फारम भर्ने र दर्ता गर्ने काम गरिरहनुभएको छ।’
पार्टीभित्र सहमतिको प्रयास अन्तिम समयसम्म जारी रहने भन्दै गौतमले सहमति नजुटे लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुने बताए।
‘हाम्रो कोसिस भोलि नै मतदान गराउने छ,’ उनले भने, ‘बृहत्तर एकता र सहमतिका लागि छलफल हुँदा समय केही घण्टा तलमाथि हुन सक्छ, त्यो सामान्य हो।’
उनले एमालेभित्र बोल्न नपाइने र लोकतान्त्रिक अभ्यास नहुने भन्ने बाहिरको भाष्यलाई महाधिवेशनमा देखिएको उत्साहले गलत साबित गरिदिएको दाबी गरे।
‘निर्वाचन प्रक्रियामा देखिएको सहभागिताले एमाले उन्नत लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्छ भन्ने पुष्टि गरेको छ’, गौतमले भने।
गौतमले आफू लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा रहेको र नेतृत्व व्यवस्थापनमा सहमति भए स्वीकार्य हुने, नभए उपमहासचिव पदमा उम्मेदवारी दिने संकेत समेत गरे।
उनले पार्टीलाई ‘अपडेटेड’ र सुदृढ बनाउनका लागि विचार, संगठन र नेतृत्वमा पुनर्व्यवस्थापन आवश्यक रहेको औंल्याए।
मंसिर २९, २०८२ सोमबार १३:५३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।