पाँडेको ‘झरिपछिको इन्द्रेणी’को प्रचार सुस्त, ‘माइतीघर’ र ‘आँखा’कै नियति दोहोरिने डर
काठमाडौं : नेपाली फिल्म क्षेत्रमा सामान्यतया प्रदर्शन मितिभन्दा दुई महिना अघिदेखि नै प्रचारप्रसारलाई व्यापक बनाउने चलन छ।
पोस्टर सार्वजनिक गर्नेदेखि गीत रिलिज र मिडिया डबलीहरूमा पुगेर फिल्मको बखान गर्ने दौडधुपले माहोल तताउँछ। निर्माण पक्षले फिल्म निर्माणमा भन्दा बढी समय र खर्च प्रचारप्रसारमा लगाउने गरेको पाइन्छ।
तर, हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म ‘झरिपछिको इन्द्रेणी’ को हकमा भने दृश्य फरक देखिएको छ। यही शुक्रबार अर्थात् पुस ४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रचारप्रसार भने निकै सुस्त छ।
फिल्ममा सफल निर्देशक दीपाश्री निरौला, गणेश उप्रेती, रमेश उप्रेती, निर्मल शर्मा, प्रियना आचार्य जस्ता चल्तीका कलाकारहरूको अभिनय छ। स्वयं निर्देशक घिमिरेको पनि दर्शकमाझ राम्रो क्रेज छ।
तर, रिलिजको सँघारमा आइपुग्दा पनि फिल्म दर्शकको नोटिसमा पर्न सकेको छैन। न निर्देशक आफैँ प्रचारमा खटिएका छन्, न त कलाकारहरू नै मिडियामा देखिएका छन्।
एक महिनाअघि काठमाडौंका मेयर बालेन शाहको युट्युब च्यानलबाट सार्वजनिक गरिएको फिल्मको गीत ‘फसायो लमीले’ ले सोचेजस्तो चर्चा पाउन सकेन।
लोकलयमा आधारित उक्त गीतले ४ लाख भ्युज कटाउन हम्मे-हम्मे परेपछि शनिबार ओएसआर डिजिटलको च्यानलमा सारिएको छ। ओएसआरमा सारिएपछि पनि समाचार तयार पार्दासम्म गीतले जम्मा २६ हजार भ्युज र ८८८ लाइक मात्र बटुल्न सकेको छ।
यद्यपि, बालेन शाहको स्वर रहेको अर्को गीत ‘आम नेपाली बुबा’ ले भने राम्रो प्रतिक्रिया पाइरहेको छ। सार्वजनिक भएको १५ घण्टामै ६ लाख ७६ हजार भ्युज र ८८ हजार लाइक पाउनुले दर्शकको चासो गीतप्रति देखिए पनि समग्र फिल्मप्रति भने खासै उत्साह देखिएको छैन।
निर्माण पक्षले सामाजिक सञ्जालमा ‘आउँदै छ’ भनेर लेखेकै भरमा फिल्म चल्छ भन्ने सोचेको देखिन्छ। तर, विगतमा राम्रा भनिएका ‘माइतीघर’, ‘आँखा’ जस्ता फिल्महरू पनि पर्याप्त प्रचारप्रसारको अभावमा हलमा दर्शक नपाएर फ्लप भएको तीतो यथार्थ हाम्रासामु छ।
दर्शकलाई फिल्मबारे जानकारी नै नदिई हलमा चलाउन खोज्दा डेब्यु निर्देशनमै अर्जुन घिमिरेलाई ‘पहिलो गाँसमा ढुङ्गा’ लाग्ने जोखिम बढेको छ।
विषयवस्तु राम्रै भए पनि दर्शकलाई हलसम्म तान्न प्रचारप्रसारमा अझै जोड त दिनुपर्छ नै, नत्र इन्द्रेणी हलमा नझुल्किँदै अस्ताउन बेर लाग्ने छैन है पाँडेजी!
मंसिर २९, २०८२ सोमबार १३:०९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।