विदेशी शक्ति हाबी भएका बेला नेतृत्वमाथि आक्रमण गर्नु गलत : महेश बस्नेत
काठमाडौं : एमालेका नेता महेश बस्नेतले मुलुकमा विदेशी शक्तिहरू हाबी भएको र देश अप्ठ्यारो परिस्थितिमा रहेको बेला पार्टीको मूल नेतृत्वमाथि आक्रमण गर्नु गलत भएको बताएका छन्।
पार्टीको ११औं महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले विदेशी शक्तिहरूको चलखेल बढेको र मुलुकको अस्तित्व संकटमा पर्नसक्ने खतरा रहेको अवस्थामा नेतृत्व परिवर्तनको माग गर्नु उपयुक्त नभएको जिकिर गरे।
‘अहिले विदेशी शक्तिहरू हाबी भएको र मुलुकको एउटा ठूलो ध्वस्तको परिणाम हामीले भोगिरहेको बेला, विदेशी शक्तिहरूको पक्षपोषण गर्ने र पार्टीका नेताहरूको विरोध गर्ने संस्कार बिल्कुलै बेठीक हो’, बस्नेतले भने।
उनले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर सर्वसम्मत हुन्छ भन्ने सोच गलत भएको टिप्पणी गरे।
बस्नेतले भने, ‘अध्यक्षलाई स्वीकार गरेर जाने हो भने बरु वरिष्ठ उपाध्यक्ष राख्ने, वा उपाध्यक्ष थप दुइटा राख्ने के गर्ने भन्ने सल्लाह गर्न सकिन्थ्यो। तर, अध्यक्षलाई हटाएर सर्वसम्मत हुन्छ भन्ने कुरा गलत मान्यता हो।’
उनले अध्यक्ष ओलीले प्रस्तुत गरेको टिमले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अगाडि बढाउने दाबी गरे।
‘आजको आवश्यकता भनेको मिलेर जाने हो। हाम्रो अध्यक्षज्यूले एउटा टिम प्रस्ताव गर्नुभएको छ, जसले कम्युनिस्ट आन्दोलन हाँक्न सक्छ, एमालेलाई अगाडि बढाउन सक्छ र विकास, समृद्धि र स्थिरता दिन सक्छ’, उनले थपे।
उनले पार्टीभित्र केही साथीहरूले केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने लबिङ गरे पनि आम जनसमुदाय र कार्यकर्ताको भावना विपरीत रहेको बताए।
उनले भने, ‘हजुरबालाई डोकोमा हालेर भीरबाट फाल्न खोज्दा नातिले डोकोचाहिँ ल्याउनु है भनेको कथाजस्तै, भोलि उहाँहरूलाई पनि फाल्नुपर्ने दिन आउन सक्छ।’
बस्नेतले चितवन महाधिवेशन भएको चार वर्षमै फेरि महाधिवेशन हुनु र अध्यक्ष ओलीले आफ्नो कार्यकालको एक वर्ष बाँकी छँदै महाधिवेशनको आह्वान गर्नुले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई पुष्टि गरेको जिकिर गरे।
मंसिर २९, २०८२ सोमबार १२:५१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।