भैरहवाको क्यासिनो विवादमा समीर शर्मा र विना प्रधानलाई उपस्थित गराउन प्रहरीलाई प्रशासनको पत्र, कर्मचारीलाई अवैध रूपमा निकालेको आरोप
बुटवल : रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धमा सञ्चालित ‘इलिगेन्ट इन्टरटेन्मेन्ट सेन्टर’पुनः विवादमा तानिएको छ।
क्यासिनोका विवादास्पद म्यानेजिङ डाइरेक्टर समीर शर्मा र एचआर प्रमुख विना प्रधानविरुद्ध जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको छ।
क्यासिनोमा मार्केटिङ प्रमुखका रूपमा कार्यरत कर्मचारी रोशन बहादुर शाहीले आफूलाई बिनाकारण जागिरबाट निकालेको, मानसिक तनाव दिएको र बेरोजगार बनाएको भन्दै प्रशासनमा उजुरी दिएका हुन्।
सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले आरोपित शर्मा र प्रधानलाई छलफलका लागि उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्र काटेको छ।
सिद्धार्थनगर-३ निवासी शाहीले मंसिर २६ गते दिएको निवेदनमा आफूले संस्थाको नियमअनुसार काम गरिरहँदा पनि एचआर प्रमुख विना प्रधान र जीएम (समीर शर्मा)ले पूर्वाग्रह राखी जागिरबाट निकालेको उल्लेख गरेका छन्।
निवदेक शाहीले उजुरीमा भनेका छन्, ‘विपक्षीले बिना कारण नोकरीबाट निकाली बेरोजगार गराई अशान्ति गरेकोले विपक्षीहरूलाई झिकाई छलफल गराई आवश्यक शान्ति सुरक्षा समेत गरी पाउँ।’
शाहीले आफूलाई हटाउँदा संस्थाको आधिकारिक लेटरप्याड समेत प्रयोग नगरी सादा कागजमा पत्र थमाइएको दाबी गरेका छन्।
पीडित कर्मचारीको उजुरी दर्ता भएसँगै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कारबाही प्रक्रिया अघि बढाएको छ। प्रशासनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पत्र लेख्दै शर्मा र प्रधानलाई सोधपुछका लागि उपस्थित गराउन आदेश दिएको छ।
प्रशासनको पत्रमा भनिएको छ, ‘निवेदनका सम्बन्धमा सोधपुछका लागि निम्नानुसारका व्यक्तिहरूलाई मिति २०८२।०९।०२ गते यस कार्यालयमा उपस्थित गराईदिनुहुन आदेशानुसार अनुरोध छ।’
झापा मेचीनगर-९ घर भएका समीर शर्मा यसअघि पनि क्यासिनोभित्र आर्थिक हिनामिना र विवादका कारण निकालिएका व्यक्ति हुन्। तर, रुपन्देहीमा नयाँ प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल आएपछि उनी पुनः क्यासिनोमा हावी भएको स्रोतको दाबी छ।
स्रोतका अनुसार शर्माले सीडीओ पोखरेल आफ्नै गृहजिल्ला झापाको भएको भन्दै ‘सिडियो साब हाम्रै गाउँले, सबै आफैं मिल्छ’ भन्दै क्यासिनोभित्र र बाहिर प्रभाव जमाउँदै आएका छन्।
केही दिनअघि प्रजिअ पोखरेलले बोलाएको रुपन्देहीका सबै क्यासिनो सञ्चालकहरूको बैठकमा पनि जागिरबाट पहिले नै हटाइसकिएका शर्मा नै ‘इलिगेन्ट’ को प्रतिनिधि बनेर उपस्थित हुनुले उनको दाबीलाई बल पुर्याएको देखिन्छ।
समीर शर्मा यसअघि सामान्य कर्मचारीको रूपमा क्यासिनोमा भित्रिएका थिए। तर, पछि हप्तावारी-महिनावारी कमाइको कमिसन आफैँ लिने, सञ्चालकलाई गुमराहमा राखेर नियमविपरीत ‘लाइभ गेम’ चलाउने र सेयरधनीहरूबीच फाटो ल्याएर व्यक्तिगत लाभ लिने गरेको आरोपमा उनलाई व्यवस्थापनले हटाएको थियो।
तर, उनी पुनः फर्जी कागजात तयार पारी सेयरधनीहरूबीच विवाद सिर्जना गर्दै एक पक्षको आडमा भित्रभित्रै सक्रिय रहँदै आएको बताइन्छ। अहिले सीडीओसँगको सम्बन्धलाई हतियार बनाएर आफूलाई हर्ताकर्ता देखाउन खोज्दा पुराना कर्मचारीहरूलाई बिनाकारण निकाल्ने र दुःख दिने क्रम बढेको पीडितहरूको गुनासो छ।
क्यासिनोका एक कर्मचारीले भने, ‘पुरानै विवाद दोहोरिएपछि व्यवसाय डुब्ने खतरा बढेको छ।’ शर्मा र प्रधानविरुद्ध प्रशासनले छानबिन अघि बढाएसँगै क्यासिनोभित्रको बेथिति सतहमा आएको छ।
मंसिर २९, २०८२ सोमबार ११:४६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।