एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई पल्सर उपहार, रोहित, सन्दीप र शेरले पाए मोटरसाइकल

एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई पल्सर उपहार, रोहित, सन्दीप र शेरले पाए मोटरसाइकल

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका उत्कृष्ट तीन खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गरिएको छ।

प्रतियोगिताको ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एक कार्यक्रमका बीच खेलाडीहरूलाई पुरस्कार हस्तान्तरण गरेको हो।

उत्कृष्ट प्रदर्शन गर्दै पल्सर एन-१६० मोटरसाइकल पाउने खेलाडीहरूमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ल रहेका छन्।

लुम्बिनी लायन्सलाई उपाधि जिताउनुको साथै प्रतियोगितामा सर्वाधिक रन बनाएका कारण कप्तान रोहितकुमार पौडेललाई मोटरसाइकल प्रदान गरिएको हो। पौडेलले यस सिजनमा कुल २७६ रन बनाएका थिए।

त्यस्तै, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका थिए। उत्कृष्ट बलिङ प्रदर्शनका आधारमा उनलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो।

यसैगरी, लुम्बिनी लायन्सका शेर मल्ललाई ‘इमर्जिङ प्लेयर’को रूपमा मोटरसाइकल प्रदान गरिएको छ। उनले प्रतियोगिताभर शानदार बलिङ गर्दै १७ विकेट हात पारेका थिए।

पुरस्कार वितरण गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले कम्पनीले खेल क्षेत्रलाई सधैँ प्राथमिकतामा राख्दै आएको बताए।

उनले भने, ‘सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो। ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैँ प्रतिबद्ध छौँ।’

नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच गत कात्तिक १३ गते एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको दोस्रो संस्करण शनिबार सम्पन्न भएको छ।

मंसिर २९, २०८२ सोमबार ०९:१९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।