एमाले प्रतिनिधिलाई खुला पत्र लेख्दै रक्षा बमले भनिन् : ओलीको हात युवा पुस्ताको रगतले रंगिएको छ

एमाले प्रतिनिधिलाई खुला पत्र लेख्दै रक्षा बमले भनिन् : ओलीको हात युवा पुस्ताको रगतले रंगिएको छ

काठमाडौं : एमालेको ११औँ महाधिवेशन चलिरहँदा ‘जेन जी फ्रन्ट’ले महाधिवेशन प्रतिनिधिहरूलाई नेतृत्व चयनका विषयमा गम्भीर प्रश्न तेर्स्याएको छ। फ्रन्टकी संयोजक रक्षा बमले एमाले अध्यक्ष केपी शर्मा ओलीको हात ‘युवा पुस्ताको रगतले रंगिएको’ आरोप लगाउँदै प्रतिनिधिहरूलाई त्यो रगतको हिस्सेदार नबन्न चेतावनी दिइन्।

विशेष परिस्थितिमा भइरहेको महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई एक खुला पत्र लेख्दै संयोजक बमले भदौ २३ को घटना स्मरण गइन्। उनले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले सडकमा उत्रिएका निहत्था विद्यार्थीहरूमाथि गोली बर्साएको र हत्या गरेको आरोप लगाइन्।

बमले प्रश्न उठाएकी छन्, ‘यतिखेर सबैभन्दा प्रमुख प्रश्न हो, केपी शर्मा ओलीको हात त हाम्रो पुस्ताको रगतले रंगिएको छ, के त्यो रगतको भागीदारिता तपाईंहरू पनि वहन गर्न तयार हुनुहुन्छ ? ’ उनले आफ्नो संवैधानिक हक माग्दा ‘जेन जी’ पुस्तामाथि दमन भएको र उक्त घटनामा एमाले नेतृत्वले माफी माग्नुको साटो उल्टै गिज्याउने र धम्क्याउने गरेको उल्लेख गरेकी छन्।

प्रतिनिधिहरूको मत ब्यालेट बक्समा खस्दै गर्दा देशका युवाहरूप्रतिको सद्भाव र नैतिकताको पनि परीक्षा हुने उनको जिकिर छ। यदि प्रतिनिधिहरू चुकेको खण्डमा पार्टी मात्र नभई देशकै भविष्य अन्धकार हुने उनको भनाई छ। 

आफूलाई तानाशाही शासकको गोलीबाट बाँचेकी आन्दोलनकारीका रूपमा चिनाउँदै उनले भनेकी छन्, ‘सम्भवतः यो एउटा अन्तिम अवसर हो। तपाईंको पार्टीलाई सच्याउने, तपाईंहरू पनि सच्चिने र युगान्तकारी परिवर्तनको संवाहक बन्ने यो अवसर तपाईंहरूले गुमाउनुभयो भने, तपाईंहरूको पार्टी मात्र नभई देशको भविष्य नै अन्धकार हुनेछ। तपाईंहरूको मन एकातिर मत एकातिर नहोस्। यस पटक यस्तो नेतृत्व छनोट गर्नुस् जसले फेरि भदौ २३ ननिम्त्याओस्।’

मंसिर २८, २०८२ आइतबार १४:२३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।