नेता व्यवस्थापन गर्न ओलीले उल्ट्याए विधान महाधिवेशनको निर्णय : पदाधिकारी १९, स्थायी कमिटी यथावत

नेता व्यवस्थापन गर्न ओलीले उल्ट्याए विधान महाधिवेशनको निर्णय : पदाधिकारी १९, स्थायी कमिटी यथावत

काठमाडौं : एमालेले ‘चुस्त र सानो’ कमिटी बनाउने भन्दै तीन महिनाअघि गरेको आफ्नै निर्णय उल्ट्याएको छ। एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारी १९ (१ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव), केन्द्रीय कमिटी ३०१ सदस्यीय र त्यसको एक तिहाइ पोलिटब्युरो ९९ सदस्यीय तथा पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटीमा सदस्य रहने निर्णय गरेको छ।

बन्दसत्रको समय सारेर आइतबार बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनबाट पारित विधानको प्रावधान संशोधनको निर्णय गरेको हो। बैठकले पारित गरेको उक्त प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भएपछि नेतृत्व चयन प्रक्रिया अगाडि बढाउने एमालेको तयारी छ।

गत भदौमा गोदावरीमा सम्पन्न विधान महाधिवेशनले ‘सानो र छरितो’ कमिटी बनाउने भन्दै पदाधिकारी संख्या १५ र केन्द्रीय कमिटी २५१ मा सीमित गरेको थियो। तर, नेतृत्व चयनको मुखैमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरूको व्यवस्थापन पेचिलो बनेपछि उनी पछि हट्न बाध्य भएका हुन्।

नेताहरूको व्यवस्थापन गर्न र पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउनका लागि ओलीले आफ्नै अडान विपरीत ३ महिनामै विधान संशोधनको प्रस्ताव ल्याउनुपरेको हो। बन्दसत्र सुरु हुनुअघि बसेको बैठकको यो निर्णयले एमाले पुनः जम्बो संरचनामा फर्किएको छ। यद्यपि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूले विधान संशोधनमा असन्तुष्टि जनाएका थिए।

अब विधान संशोधनको यो प्रस्ताव बन्दसत्रमा पेश हुनेछ र हलबाट अनुमोदन भएपछि सोही अनुसार निर्वाचन वा सहमतिको प्रक्रिया अघि बढ्नेछ।

मंसिर २८, २०८२ आइतबार १३:३५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।