एमालेमय भृकुटीमण्डप : बन्दसत्रअघिको रौनक र कार्यकर्ताको उत्साह (फोटो फिचर)
काठमाडौं : एमालेको महाधिवेशन बन्दसत्र स्थल काठमाडौंको भृकुटीमण्डप यति बेला एमालेमय बनेको छ। बन्दसत्र सुरु हुनुअघि नै देशभरबाट ओइरिएका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिले महाधिवेशन स्थलमा ठूलो चहलपहल र रौनक बढाएको छ।
महाधिवेशन स्थलको बाहिरी गेटमा प्रतिनिधिहरूको भीड लागेको छ। त्यहाँ मनोनयन भएका प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने काम धमाधम भइरहेको छ। दिउँसो १ बजेबाट सुरु हुने बन्दसत्रको प्रतीक्षामा कार्यकर्ताहरू उत्साहित देखिएका छन्। बन्दसत्र सुरु भएसँगै एमालेको नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया अघि बढ्नेछ।
बाहिर कार्यकर्ताको उत्साहजनक भीड लागिरहँदा भित्र भने दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहेको छ। यो बैठकमा सांगठनिक स्वरूप फेरबदलको रस्साकस्सी देखिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले नेताहरूको व्यवस्थापन गर्न भन्दै पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय पुर्याउने प्रस्ताव गरेका छन्।
गत भदौको विधान महाधिवेशनले कमिटी सानो बनाए पनि ओलीले पुनः आकार बढाउन लागेका हुन्। यद्यपि, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट नेताहरूले भने अध्यक्षको यो प्रस्ताव आए प्रतिवाद गर्ने आन्तरिक तयारी गरेका छन्।








मंसिर २८, २०८२ आइतबार १३:१५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।