विधान संशोधनको विषयले एमालेभित्र तीव्र विवाद
काठमाडौं : एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको विषयलाई लिएर तीव्र विवाद उत्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी बैठकमा पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या बढाउन प्रस्ताव गरिएपछि मतभेद चर्किएको हो।
अध्यक्ष केपी शर्मा ओली पक्षले विधान संशोधनको विषय अगाडि बढाएपछि उत्पन्न विवादकै कारण आइतबार बिहानका लागि तय भएको बन्दसत्र सुरु हुन सकेको छैन भने समय दिउँसो १ बजेका लागि सारिएको छ।
एमाले नेताहरूका अनुसार अध्यक्ष ओलीले विधान संशोधनको प्रस्ताव आफैँले पेस गरेका होइनन्। उनले आफू निकट नेताहरूमार्फत ‘फ्लोर’बाट यो विषय सुनियोजित रूपमा उठाएका हुन्। पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलगायतका ओली पक्षीय नेताहरूले १० औँ महाधिवेशनको विधानमा हेरफेर गरेर केन्द्रीय कमिटीको संख्या बनाउनुपर्ने र स्थायी कमिटीलाई फेरि ब्युताउने प्रस्ताव राखेका छन्।
ओली पक्षका नेताहरुबीच गए राति भएको अनौपचारिक छलफलको क्रममा फ्लोरबाट यो प्रस्ताव ल्याउने रणनीति बनेको बताइन्छ। तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने विधान संशोधनको प्रस्तावप्रति कडा आपत्ति जनाएको छ।
विधान महाधिवेशनले पारित गरेको तीन महिनामै किन विधान संशोधन गर्नुपर्यो भनेर उनीहरूले प्रश्न उठाएका छन्। फ्लोरबाट विधान संशोधनको प्रस्ताव ल्याइए आफूहरूले पनि फरक अवधारणा र प्रस्ताव पेस गर्न पाउनुपर्ने माग पोखरेल पक्षका नेताहरूले राखेका छन्।
यदि विधान संशोधन नै गर्ने हो भने नेतृत्वमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पनि ब्युँताएर जानुपर्ने पोखरेल पक्षको अडान छ। बन्दसत्र सुरु हुनु अघि ओली पक्षले विधान संशोधनको बखेडा झिकेपछि तीव्र मतभेद बढेको छ। नेताहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ। विधानमा सहमति जुट्न नसक्दा केन्द्रीय कमिटी बैठक लम्बिने देखिएको छ।
तेस्रो कार्यकालका लागि सङ्घर्षरत अध्यक्ष ओलीलाई पुन नेतृत्वमा स्थापित गर्न विधान संशोधनको विषय उठाइएको आरोप लगाइएको छ। उनलाई रोक्न यस महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनौती दिँदै छन्।
मंसिर २८, २०८२ आइतबार १२:३६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।