पोखरेल समूहप्रति आक्रोश पोख्दै ओलीले भने : अरूका एजेन्डा बोकेर हिँडे

पोखरेल समूहप्रति आक्रोश पोख्दै ओलीले भने : अरूका एजेन्डा बोकेर हिँडे

काठमाडौं : एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकमा नेतृत्व तहको आन्तरिक विवाद सतहमा आएको छ। आइतबार बिहान भृकुटीमण्डपमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहप्रति असन्तुष्टि व्यक्त गरे।

विशेषगरी ‘जेनजी आन्दोलन’ र त्यसपछिको घटनाक्रमलाई लिएर पार्टीभित्र देखिएको फरक मतप्रति ओली आक्रोशित छन्। सरकारले गठन गरेको छानबिन आयोगमा बयान दिन जाने कि नजाने भन्ने विषयमा ओली र पोखरेलको फरक फरक धारण व्यक्त भएका थिए।

बैठकमा अध्यक्ष ओलीले पार्टीभित्रका नेताहरूले ‘आत्मआलोचनाका नाममा अरूको एजेन्डा बोकेको’ गम्भीर आरोप लगाए। उनले भने,  ‘भदौ २३ र २४ गतेको आन्दोलनपछि कतिपय हाम्रै साथीहरूले तत्कालीन प्रधानमन्त्रीले अध्यक्षबाट पनि राजीनामा दिनुपर्छ भने। यो कुरा विपक्षी दलहरूले भन्न सकेका थिएनन्, मिडियाले पनि भनेको थिएन। अरूका एजेन्डा बोकेर हाम्रै साथीहरू हिँडे।’

जेनजी आन्दोलनकै कारण ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। सोही घटनाको छानबिन गर्न वर्तमान सरकारले बनाएको आयोगमा बयान दिन नजाने उनको अडान छ। तर, वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षले भने ओलीले आयोगमा उपस्थित भएर बयान दिनुपर्ने मत राख्दै आएको छ।

पोखरेल पक्षको यही दबाब र फरक मतप्रति अध्यक्ष ओलीले बैठकमा प्रतिवाद गरेका छन्। महाधिवेशनको बन्दसत्र सुरु हुनै लाग्दा अध्यक्षले वरिष्ठ उपाध्यक्षमाथि गरेको यो टिप्पणीले एमालेको आन्तरिक राजनीतिमा तरङ्ग पैदा गरेको छ।

अहिले बसिरहेको केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्तावसहितका विषयमा निर्णय लिनेछ। आफ्नो समूहमा नेता व्यवस्थापनमा समस्या भएपछि ‌‌‌ओली विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने तयारीमा छन्।

 यद्यपि यसअघि उनको चाहनामा विधान संशोधन गरेर  पदाधिकारी घटाएका थिए। उता ईश्वर पोखरेल समूह भने विधान अधिवेशनबाट पारित भएको विधान संशोधन गर्न नहुने पक्षमा छन्। आइतबार बिहान सात बजेबाट बन्द सत्र सुरु गर्ने कार्यतालिका भए पनि बन्द सत्र दिउसो १ बजेलाई सारिएको छ।

मंसिर २८, २०८२ आइतबार १२:०७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।