डा. रविको उपचार अनुभव : कपाल काटिने डरले बालिकाले जब अप्रेसन गर्न मानिनन्...
‘श्रीमतीको आवाज सुन्न नपाई मरिने भइयो कि’ भन्ने पिरलो ४५ वर्षीय एक पुरुषमा थियो। पूर्ण रूपमा श्रवण शक्ति गुमाएका उनको दैनिकी लामो समयदेखि इसाराको भरमा चलिरहेको थियो। संसारको कोलाहल उनका लागि सन्नाटामा परिणत भएको थियो। तर, जब वीर अस्पतालको एउटा कक्षमा वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रविभुषण सुवालले 'कक्लियर इम्प्लान्ट'को स्वीच अन गरे, ती पुरुषको अनुहारको चमक फेरियो।
वर्षौंपछि श्रीमतीको आवाज सुन्दा उनले व्यक्त गरेको त्यो खुसी केवल एक बिरामीको उपचार सफल भएको क्षण मात्र थिएन; यो त सरकारी अस्पतालमै जटिल प्रविधि भित्र्याउन डा. रविले गरेको लामो प्रयास र विभागीय सक्रियताको सार्थक नतिजा पनि थियो। 'कक्लियर इम्प्लान्ट'ले कसरी कानको सुनाइ फर्काउँछ भन्ने विषयमा केन्द्रित रहेर व्यक्तिको गुमेको श्रवण शक्ति फर्काउने काममा सक्रिय उनै डा. रविले आफ्ना चिकित्सकीय अनुभवहरू उकेरासँग यसरी साटेका छन् :
सुरुवातका ती चुनौतीहरू
त्रिवि शिक्षण अस्पतालमा सात वर्ष अघि नै 'कक्लियर इम्प्लान्ट' लगाएर व्यक्तिको पूर्ण रूपमा गुमेको श्रवण फर्काउने उपचार विधि सुरु भइसकेको थियो। तर, नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा रहेको वीर अस्पतालमा कक्लियर इम्प्लान्ट उपचार सेवा उपलब्ध थिएन। देशको केन्द्रीय अस्पतालमा श्रवण शक्ति गुमेका व्यक्तिको सुनाइ फर्काउन नपाउँदा डा. रविलाई निकै नरमाइलो महसुस हुने गर्थ्यो।
त्यसैले कक्लियर इम्प्लान्टसम्बन्धी फेलोसिप तालिमका लागि डा. रवि भारतको हैदरावादस्थित कृष्ण इन्स्टिच्युट अफ मेडिकल साइन्स (किम्स) पुगे। त्यहाँ उनले ६ महिने फेलोसिप गरेर कक्लियर इम्प्लान्टसम्बन्धी ज्ञान तथा सीप हासिल गरे र गत वर्षको फागुनमा नेपाल फर्किए।
नेपाल फर्किएपछि डा. रवि वीर अस्पतालको आफू कार्यरत इएनटी विभागसँगको समन्वयमा कक्लियर इम्प्लान्ट सेवा विस्तार गर्ने काममा सक्रिय भए। उनको निरन्तरको समन्वय र पहलपछि यो वर्ष १२ जना बिरामीका लागि 'कक्लियर इम्प्लान्ट' लगाउन सरकारले बजेटको व्यवस्था गरिदियो।
फेलोसिप गरेर नेपाल फर्किएको दुई महिनापछि नै वीर अस्पतालको इएनटी विभागले गत वैशाखबाट पहिलो पटक पूर्ण रूपमा श्रवण शक्ति गुमेका व्यक्तिका लागि कक्लियर इम्प्लान्ट लगाएर श्रवण शक्ति फर्काउने उपचार विधि सुरु गर्यो। तीन वर्षअघि भारतबाट आएका विशेषज्ञ चिकित्सकको सहयोगमा वीर अस्पतालमा नै दुई जना व्यक्तिमा कक्लियर इम्प्लान्ट लगाइएको डा. रविले सुनाए। तर, नेपालकै जनशक्तिबाट नियमित सेवा दिने गरी गत वैशाखमा मात्रै इएनटी विभागको सक्रियतामा पहिलो पटक वीर अस्पतालमा कक्लियर इम्प्लान्ट सेवा सुरु गरिएको हो।
व्यक्तिमा शल्यक्रिया गरेर कक्लियर इम्प्लान्ट राखिदिएर मात्रै उपचार पूर्ण हुँदैन। यसका लागि ‘अडियोलोजिष्ट’ र ‘स्पीच थेरापिष्ट’ पनि आवश्यक पर्छ। त्यसको लागि पनि थप तालिम गराएर जनशक्ति तयार गरियो। वीर अस्पतालको चिकित्सकको टिम छँदै थियो।
सुरुवाती कामका लागि चुनौती हुने नै भयो। जोखिम नहोस् भनेर फेलोसिप गर्दा सिकाउने आफ्ना ‘मेन्टर’ चिकित्सकलाई नै डा. रविले पहिलो पटक कक्लियर इम्प्लान्ट सेवा सुरु गर्नका लागि अस्पतालमा बोलाए। सबै तयारी पूरा भएपछि वीर अस्पतालमा पहिलो दिन नै दुई जना व्यक्तिको कक्लियर इम्प्लान्ट राखेर श्रवण शक्ति फर्काउने शल्यक्रिया गर्ने निर्णय भयो। यसरी पहिलो दिन वीर अस्पतालमा शल्यक्रिया गरी कक्लियर इम्प्लान्ट राखेर श्रवण शक्ति फर्काइने व्यक्तिमा करिब ४५ वर्षका पुरुष र करिब १४ वर्षकी बालिका थिए।
‘बुढीको आवाज सुन्न नपाई मरिएला’ भन्ठानेका पुरुषले जब सुने...
कानको उपचारका लागि वीर अस्पताल पुगेका ४५ वर्षे ती पुरुषको बाल्यकालदेखि नै कान पाक्ने समस्या रहेछ। समयमै कान पाक्ने समस्याको उचित उपचार नपाएका कारण बिस्तारै-बिस्तारै उनले कान सुन्न छाड्दै गए। केही वर्ष अघिदेखि ती पुरुषका दुवै कानले पूर्ण रूपमा सुन्न छोडे। कान नै नसुन्ने भएपछि इसाराको भरमा कुरा गरेर उनी जीवनशैली चलाउन विवश थिए।
डा. रविको टिमले अस्पताल पुर्याइएका ती पुरुषको कानको विस्तृत चेकजाँच गर्यो। चेकजाँचपछि कक्लियर इम्प्लान्ट लगाएर कान सुन्ने बनाउन सकिने निष्कर्ष निकालियो। त्यसपछि ती पुरुषका परिवारले रकम व्यवस्थापन गरे। एउटा कक्लियर इम्प्लान्ट र स्पीच थेरापीका लागि सरकारले प्रतिव्यक्ति साढे ६ लाख रकम दिएको छ। तर, त्यो रकमले मात्र पुग्दैन। त्यसैले करिब साढे ६ लाख बिरामीले नै खर्च गर्नुपर्ने हुन्छ। यो सबै व्यवस्थापन भयो।
सबै तयारीपछि ती ४५ वर्षे पुरुषलाई अस्पतालमा भर्ना गरियो। दुवै कान नसुन्ने उनको एउटा कानको श्रवण शक्ति फर्काउन शल्यक्रिया गरेर बायाँतर्फको कानको पछाडिको माथिल्लो भागमा छालामुनि कक्लियर इम्प्लान्ट राखियो। त्यो इम्प्लान्टसँग ‘नेटवर्क’ गर्न छालाबाहिर अर्को यन्त्र राखिन्छ। छालाबाहिर राखिने त्यो यन्त्र भने शल्यक्रिया सकेर घाउ निको भएपछि मात्रै राखिन्छ।
कक्लियर इम्प्लान्ट राखेसँगै बिरामीको कानको भित्री भागमा विशेष श्रवण यन्त्रको तार कक्लियामा राखियो। शल्यक्रियाकै क्रममा बिरामीले कान सुन्छन् कि सुन्दैनन् भनेर चेकजाँच गरियो। यन्त्र राखेपछि ती पुरुषले कान सुन्ने निष्कर्ष निकालियो र शल्यक्रिया सफल भयो।
शल्यक्रिया गरेर अस्पतालबाट डिस्चार्ज गरेको तीन हप्तापछि छालाबाहिर राखिनुपर्ने यन्त्र पनि डा. रविले राखिदिए। अनि मोबाइलको स्वीच अन गरेजस्तै उनले कानमा राखिदिएको कक्लियर इम्प्लान्टको स्वीच अन गरे। जब डा. रविले स्वीच अन गरेपछि वर्षौंदेखि नसुनेको उनका कानले फेरि सुन्न थाले। कान सुन्ने भएपछि उनमा खुसीको सञ्चार भयो।
कान नसुन्ने भएपछि उनमा श्रीमतीको आवाज नसुनी ‘मरिने भइयो’ भन्ने पिरोलेको रहेछ। कक्लियर इम्प्लान्ट लगाएपछि सबैभन्दा पहिला श्रीमतीकै आवाज सुन्ने उनको इच्छा रहेछ। त्यसैले कानमा राखेको यन्त्रको स्वीच अन गर्नासाथ ती पुरुषले रमाउँदै श्रीमतीतिर हेरेर भने, ‘यो बुढीको आवाज सुन्न नपाई मर्छु कि जस्तो लागेको थियो। ल, बुढीको आवाज सुन्न पाएँ।’
कानमा राखिएको 'कक्लियर इम्प्लान्ट'को सफलतापछि उनी स्पीच थेरापीलगायतको उपचार प्रक्रियामा सामेल भए। अहिले उनी कान सुन्ने भएर बेलाबेलामा फलोअपका लागि अस्पताल पुग्छन्।
बालिकालाई कानको सुनाइ भन्दा कपाल काटिने डर
वीर अस्पतालमा पहिलो दिन नै शल्यक्रिया गरी कक्लियर इम्प्लान्ट राखिएकी करिब १४ वर्षकी बालिका पूर्ण रूपमा कान सुन्न सक्दिन थिइन्। ८/९ कक्षामा पढ्ने भक्तपुरकी ती बालिका उनका बुवाले अस्पताल ल्याएका थिए। चिकित्सकको टिमको सबै चेकजाँचपछि उनको पनि शल्यक्रिया गरी कक्लियर इम्प्लान्ट लगाएर श्रवण शक्ति फर्काउन सकिने देखियो। शल्यक्रिया गरेर कक्लियर इम्प्लान्ट राख्न डा. रविको टिमले बालिकालाई अस्पतालमा भर्ना गर्यो। शल्यक्रिया गर्दा उनको कथा भने रोचक छ।
शल्यक्रिया तय भएपछि जब उनले शल्यक्रिया गर्ने भागको कपाल काट्नुपर्छ भन्ने थाहा पाइन्, उनले उपचार नै नगर्ने अडान लिइन्। 'कक्लियर इम्प्लान्ट नै राख्दिनँ, तर कपाल काट्दिनँ' भन्ने उनको जिद्दीले चिकित्सक र परिवारलाई फसादमा पार्यो। पछि उनको स्कुलकी शिक्षिकालाई बोलाएर 'कपाल पछि आइहाल्छ' भनेर सम्झाएपछि उनी शल्यक्रियाका लागि तयार भइन्। चिकित्सकको टिमले शल्यक्रिया गरेर उनको दायाँतर्फको कानमा सफलतापूर्वक कक्लियर इम्प्लान्ट राखियो।
जब बालिका होसमा फर्किइन्, उनी आफ्नो कपाल काटिइएमा चिकित्सकसँग निकै रिसाइन्। कपाल काटेको पिरमा उनी एक घण्टासम्म ट्वाइलेटबाट ननिस्किएको र दुई दिन खाना नै नखाएको डा. रवि सम्झन्छन्। करिब तीन हप्तामा उनको कानको बाहिरी भागमा पनि यन्त्र (प्रोसेसर) राखियो। अनि स्वीच अन गरियो। त्यसपछि ती बालिका कानले सुन्न थालिन्। गुमेको श्रवण शक्ति फर्किएपछि उनी उपचार गरिदिने चिकित्सकको टिमसँग रिसाउन छाडिन्। उनले फलोअपमा आउँदा अहिले खुसीले नमस्कार गर्ने गरेको अनुभव डा. रविले सुनाए।
सुनाइ फर्काउन १२ लाख खर्च
डा. रविका अनुसार नेपालमा कक्लियर इम्प्लान्ट लगाउन न्यूनतम १२ लाख रुपैयाँ खर्च आउँछ। जसमध्ये ६ लाख मेसिन (कक्लियर इम्प्लान्ट) खरिदका लागि र कक्लियर इम्प्लान्ट लगाइसकेपछि गरिने स्पीच थेरापीका लागि ५० हजार गरी कुल साढे ६ लाख सरकारले अनुदान दिन्छ। बाँकी चेकजाँच, औषधि, र अन्य उपचारको खर्चसहित करिब साढे ६ लाख रकम बिरामी आफैँले खर्च गर्नुपर्ने हुन्छ।
विशेषता अनुसार महँगो मूल्यका इम्प्लान्ट पनि हुने गरेको उनले सुनाए। तर, आर्थिक अवस्था कमजोर भएका कयौं बिरामीले साढे ६ लाख पनि खर्च गर्न नसक्ने अवस्था पनि नरहेको उनले बताए। त्यसैले सरकारले यस्तो सेवालाई निःशुल्क गर्दै जानुपर्ने उनको धारणा छ। उनी भन्छन्, ‘सरकारले आर्थिक स्रोतको वर्गीकरण गरेर त्यसका आधारमा हुनेसँग उपचार शुल्क लिने र नहुनेलाई पूर्ण रूपमा निःशुल्क दिने नीति लिनुपर्छ।’
कक्लियर इम्प्लान्ट दुवै कानमा राख्न मिल्छ र यो राम्रो पनि हो। तर, दुवै कानमा राख्दा खर्च दोब्बर हुन्छ। त्यसैले अहिले सरकारी बजेट भने एक जनालाई एउटा कक्लियर इम्प्लान्टका लागि मात्रै छुट्याइएको छ। त्यसैले एउटा कानमा मात्रै कक्लियर इम्प्लान्ट राखिने गरेको उनले सुनाए।
डा. रविका अनुसार जन्मजात कान नसुन्ने बालबालिकाको लागि पाँच वर्षको उमेरभित्र नै कक्लियर इम्प्लान्ट राख्नु उचित हुन्छ। तर, बोली आइसकेका बालबालिका र वयस्क व्यक्तिमा कुनै कारणले श्रवण क्षमता हराएको खण्डमा जुनसुकै बेला पनि कक्लियर इम्प्लान्ट राख्न सकिने उनले बताए। वीर अस्पतालमा १२ जनाका लागि लगाउने गरी सरकारले कक्लियर इम्प्लान्टको बजेट दिएको र त्यसमध्ये मङ्सिरसम्ममा नौ जनामा यो इम्प्लान्ट लगाइसकिएको उनले सुनाए। कक्लियर इम्प्लान्ट लगाउनुपर्ने अवस्थाका बिरामीको चाप बाक्लै रहेको डा. रविले बताए। त्रिवि शिक्षण अस्पतालमा पनि यस्तै उपचार हुने गरेको छ।
‘कक्लियर इम्प्लान्टः कृत्रिम कान’
कानभित्र भएको ‘कक्लिया’ले सुन्ने काम गर्छ। सुनाइको प्रमुख अङ्ग कक्लिया नै भएको डा. रविले बताए। कुनै समस्याले कक्लिया बिग्रियो भने व्यक्तिको श्रवण शक्ति गुम्छ। जन्मजात रूपमा कक्लियाको विकास नभएको वा कानमा संक्रमण भएको अवस्थामा कक्लियामा समस्या आउन सक्ने र काम नगर्न सक्छ। बढी ज्वरो आउने, मेनेन्जाइटिस हुने, हाँडे आउने, कान पाक्ने, सुत्केरी समयमा बच्चामा अक्सिजनको मात्रा नपुग्ने वा कमलपित्त बिग्रिने जस्ता कारणले कक्लियामा क्षति पुगेको खण्डमा व्यक्तिले श्रवण शक्ति गुमाउन सक्ने डा. रवि बताउँछन्।
कानका प्राकृतिक संयन्त्रले काम नगरेको र विभिन्न किसिमका आधुनिक श्रवण यन्त्रले समेत सुनाइ फर्काउन नसकेको खण्डमा कक्लियर इम्प्लान्ट प्रभावकारी विकल्प हो। कक्लियर इम्प्लान्ट भनेको एक प्रकारको ‘कृत्रिम कान’ नै हो। शल्यक्रिया गरी लगाइने यस्तो कृत्रिम कानले प्राकृतिक रूपमा बनेको कानजस्तै गरी सुनाइको काम गर्छ। शल्यक्रिया गरेर कानको सुनाइको लागि कक्लियर इम्प्लान्ट संयन्त्र कानमा फिट गरिन्छ।
शल्यक्रिया गरी कक्लियर इम्प्लान्ट राखेपछि यसले बाहिरी वातावरणको ध्वनिलाई टिपेर कानको कक्लियामा फिट गरेको कक्लियर इम्प्लान्टको इलेक्ट्रोडमा पुर्याउँछ। यसरी राखिएका संयन्त्रले प्राकृतिक कक्लियाले जस्तै काम गर्छ र सन्देश नसाको माध्यमबाट मस्तिष्कसम्म पुग्छ, अनि व्यक्तिले आवाज सुन्छ।
कानको भित्र राखिने कक्लियर इम्प्लान्ट जीवनभर केही नहुने तर छालाबाहिर राखिएको यन्त्र (प्रोसेसर) भने ८/१० वर्षपछि फेर्नुपर्ने हुनसक्ने उनले सुनाए। अन्य विभिन्न किसिमका उपचार पद्धति अपनाउँदा समेत श्रवण शक्ति नफर्किएका व्यक्तिमा कक्लियर इम्प्लान्ट लगाएर श्रवण शक्ति फर्काइन्छ। सबै चेकजाँचपछि कक्लियर इम्प्लान्ट लगाएर श्रवण शक्ति फर्किन्छ कि फर्किँदैन भनेर यकिन गरिसकेपछि मात्रै यो विधि अपनाइन्छ। र, यो करिब शतप्रतिशतमा नै सफल हुने डा. रविले सुनाए।
समूहमा काम
कक्लियर इम्प्लान्ट राख्ने र व्यक्तिको सुनाइलाई फर्काउने काम एक्लो प्रयासले हुँदैन, यो चिकित्सकीय टिममा नै गर्नुपर्छ। यसका लागि कक्लियर इम्प्लान्ट राख्ने ‘इएनटी सर्जन’, ‘अडियोलोजिष्ट’ र ‘स्पीच थेरापिष्ट’ बीचको समन्वय अत्यन्त आवश्यक हुन्छ।
कक्लियर इम्प्लान्ट (डिभाइस) को व्यवस्थापन गर्ने र ध्वनिको व्यवस्थापनका लागि ‘अडियोलोजिष्ट’ चाहिन्छ। आवश्यकता अनुसार कक्लियर इम्प्लान्ट जडान गरेपछि सुन्न सक्ने बनाएर बोली तथा भाषाको विकास गर्नका लागि ‘स्पीच थेरापिष्ट’ आवश्यक हुन्छ। विशेष गरी जन्मजात कान नसुन्ने भएका बालबालिकाका लागि स्पीच थेरापिष्टले अलि धेरै मिहिनेत गर्नुपर्ने हुन्छ।
छात्रवृत्तिमा नै एमबीबीएस र एमएस अध्ययन
भक्तपुरको चोछेमा जन्मिएका रविले स्थानीय वासु माविबाट २०५३ मा एसएलसी गरे। उनले अमृत साइन्स कलेज (अस्कल) बाट आइएस्सी गरे। रविलाई डाक्टर बन्ने रहर थियो। त्यसैले उनले डाक्टरी विषय नै अध्ययनका लागि तयारी गरे।
एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिए। उनी छनोट मात्रै भएनन्, सरकारी छात्रवृत्ति कोटामा नै एमबीबीएस अध्ययन गर्ने अवसर समेत पाए। त्यसैले काठमाडौं विश्वविद्यालय अन्तर्गतको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस, भरतपुरमा सन् २००० मा छात्रवृत्ति कोटामा भर्ना भएर एमबीबीएस अध्ययन थाले। सन् २००५ मा रविको एमबीबीएस अध्ययन पूरा भयो।
एमबीबीएस अध्ययन सकेपछि धुलिखेल अस्पतालमा डा. रविले करिब डेढ वर्ष काम गरे। थप विशेषज्ञ तहको अध्ययन गर्ने इच्छा भएपछि उनी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि सन् २००७ मा भर्ना भए। उनको अध्ययनको रोजाइमा नाक, कान, घाँटी (इएनटी) विषय पर्यो। यो विषयलाई चिकित्सा शास्त्रको अध्ययनमा ‘मास्टर्स इन सर्जरी (एमएस) : अटोराइनोल्यारिङ्गोलोजी तथा हेड एण्ड नेक सर्जरी’ भनिन्छ। सन् २०१० मा उनको इएनटी अध्ययन सकियो।
उनले एमबीबीएस जस्तै इएनटी पनि सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गरेका हुन्। अध्ययनपछि उनले मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नाक, कान, घाँटी विशेषज्ञ (कन्सल्टेण्ट इएनटी सर्जन) का रूपमा करिब पाँच वर्ष काम गरे।
सरकारी जागिरमा प्रवेश
त्यसपछि डा. रविलाई सरकारी जागिर नै खानुपर्छ भन्ने महसुस भयो। उनले लोकसेवा परीक्षा दिए। अनि २०७४ मा लोकसेवा परीक्षामार्फत डा. रवि नवौं तहको नाक, कान, घाँटी रोग विशेषज्ञका रूपमा सरकारी स्थायी जागिरमा प्रवेश गरे।
सरकारी जागिरे भएपछि उनको पहिलो पोस्टिङ भक्तपुर अस्पतालमा भयो। त्यहाँ उनले करिब तीन वर्ष काम गरेपछि कर्मचारी समायोजनका क्रममा डा. रवि संघ अन्तर्गत समायोजन भए। संघमा समायोजन भएपछि उनी २०७७ मा पोस्टिङ भएर वीर अस्पतालको नाक, कान, घाँटी रोग विभागमा पुगे। हालसम्म डा. रवि वीरमा नै कार्यरत छन्।
मंसिर २८, २०८२ आइतबार ०७:१३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।