संसद् पुनःस्थापना हुनेमा विश्वस्त छौं : अध्यक्ष ओली
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रमा उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घुसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर बनाइए पनि शान्तिपूर्ण र न्यायपूर्ण बलको जगमा लोकतन्त्रलाई फर्काइने बताए।
महाधिवेशनको विशाल उपस्थितिलाई बेवास्ता नगर्न स्मरण गराउँदै अध्यक्ष ओलीले विघटित संसद् पुनःस्थापना हुनेमा आफूहरू विश्वस्त रहेको बताए। उनले अहिलेको सरकार निर्वाचनको वातावरण बनाउनभन्दा पूर्वाग्रह र संविधान विपरीतका काममा लागेको आरोप पनि लगाए।
एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशितालाई स्थापित गरेको बताए। एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागिता मूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए।
उनले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताए। एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा अग्रसर रहने जनाउँदै अध्यक्ष ओलीले सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गरे।
'लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ। लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ। सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौं,' उनले भने, 'कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ। एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी हो। नागरिकले जीवनको आधार यही शक्ति हो।'
मंसिर २७, २०८२ शनिबार १७:४१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।