यु-१९ एसिया कप : श्रीलंकाविरुद्ध नेपालको लज्जास्पद प्रदर्शन, ८२ रनमै अलआउट

यु-१९ एसिया कप : श्रीलंकाविरुद्ध नेपालको लज्जास्पद प्रदर्शन, ८२ रनमै अलआउट

दुबई : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसीसी यु-१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले लज्जास्पद ब्याटिङ गरेको छ।

श्रीलंकाविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा मात्र ८२ रन बनाएर अलआउट भएको हो।

दुबईस्थित ‘द सेभेन्स’ रङ्गशालामा भएको खेलमा नेपालका ब्याट्सम्यानहरू श्रीलङ्काका बलरसामु निरीह साबित भए।

नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक १८ रन बनाए भने ओपनर साहिल पटेलले १२ रन र निरज कुमार यादवले १० रन जोडे। यी तीन खेलाडीबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

कप्तान अशोक धामी ९ रन, युवराज खत्री ५ रन र रोशन विश्वकर्मा १ रनमा आउट भए। वंश क्षेत्री, दिलसाद अली र दयानन्द मण्डल त खाता नखोली पभेलियन फर्किए। अभिशेक तिवारी ७ रनमा अविजित रहे।

नेपाललाई सस्तैमा समेट्न श्रीलंकाका सेथ्मिका सेनेभिरत्नेले घातक बलिङ गरे। उनले ९.५ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए। त्यस्तै, रासिथ निम्सारा, विघ्नेश्वरन आकाश, दुलनिथ सिगेरा र चमिका हिनातिगालाले समान १-१ विकेट लिए।

खेल जित्नका लागि अब श्रीलंकाले केही बेरमा ८३ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ।

मंसिर २७, २०८२ शनिबार १३:२९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।