कोलकातामा मेसी : फ्यानको आक्रोश, स्टेडियममा तोडफोड

कोलकातामा मेसी : फ्यानको आक्रोश, स्टेडियममा तोडफोड

कोलकाता : अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आइपुगेका छन्।

उनीसँगै उरुग्वेका स्टार खेलाडी लुइस सुआरेज र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पल पनि गए राति करिब २:३० बजे कोलकाता विमानस्थलमा अवतरण गरेका हुन्।

मेसीले आज बिहान ११ बजे कोलकातामा निर्माण गरिएको ७० फिट अग्लो सालिकको भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।

सो कार्यक्रममा भारतीय अभिनेता शाहरुख खानको पनि उपस्थिति रहेको थियो।

सालिक उद्घाटनपछि मेसीसहित तीनै जना खेलाडी कोलकाताको साल्ट लेक स्टेडियम पुगेका थिए।

तर, त्यहाँबाट उनीहरू अपेक्षाभन्दा चाँडै बाहिरिएपछि फ्यानहरू आक्रोशित बनेका छन्। रिसाएका फ्यानहरूले स्टेडियमको स्ट्यान्डबाट मैदानमा बोतल र कुर्सीहरू हानेर विरोध जनाएका छन्।

मेसी संयुक्त राष्ट्र सङ्घको बाल सङ्गठन ‘युनिसेफ’का ब्रान्ड एम्बेसडर हुन्। उनी सोही जिम्मेवारीअन्तर्गत ‘गोट इन्डिया’ भ्रमणका क्रममा भारत आएका हुन्।

मेसीले डिसेम्बर १५ सम्म भारतका चार वटा शहरको भ्रमण गर्नेछन्। कोलकातासहित उनले हैदरावाद, मुम्बई र नयाँ दिल्लीको भ्रमण गर्ने कार्यक्रम छ।

कोलकाता बसाइका क्रममा उनले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जी र भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीसँग भेटघाट गर्नेछन्।

त्यस्तै, मुम्बईमा उनले क्रिकेटका महान् खेलाडी सचिन तेन्दुलकरसँग भेट गर्ने कार्यक्रम तय भएको छ।

डिसेम्बर १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटपछि उनको भारत भ्रमण सकिनेछ।

मंसिर २७, २०८२ शनिबार १३:११:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।