यु-१९ एसिया कप : श्रीलंकाविरुद्ध नेपालको बिजोग, ६३ रनमा ६ विकेट गुमायो
दुबई : संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसीसी यु-१९ एसिया कपअन्तर्गत आज भइरहेको खेलमा नेपालको प्रदर्शन निकै दयनीय बनेको छ।
श्रीलंकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले २१.१ ओभरमा ६ विकेट गुमाउँदै मात्र ६३ रन जोडेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सुरुदेखि नै लगातार विकेट गुमाएपछि इनिङ्स धराशायी बनेको हो।
नेपालका लागि क्रिजमा टिकेर खेलिरहेका सिब्रिन श्रेष्ठ १८ रन बनाएर आउट भए। उनलाई विघ्नेश्वरन आकाशले महावितानाको हातबाट क्याच आउट गराए।
अहिले क्रिजमा अभिशेक तिवारी १ रन बनाएर खेलिरहेका छन्। नेपालका कुनै पनि ब्याट्सम्यानले लामो समय क्रिजमा टिक्न सकेका छैनन्।
ओपनर साहिल पटेल १२ रन, निरज कुमार यादव १० रन र कप्तान अशोक धामी ९ रनमा आउट भए। वंश क्षेत्री र दिलसाद अली त खाता नखोली नै पभेलियन फर्किए।
श्रीलंकाका बलर सेथ्मिका सेनेभिरत्नेले ८ ओभरमा २३ रन खर्चेर ३ विकेट लिँदै नेपालको ब्याटिङ लाइन ध्वस्त पारेका छन्। त्यस्तै, रासिथ निम्सारा र विघ्नेश्वरन आकाशले १-१ विकेट लिएका छन्।
नेपालले ३० रन जोड्दा पहिलो विकेट गुमाएको थियो। तर, त्यसपछि ३३ रन जोड्दा थप ५ विकेट गुमाएपछि नेपाल सङ्कटमा परेको छ।
मंसिर २७, २०८२ शनिबार १२:२९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।