एमाले महाधिवेशन : पदाधिकारीमा लुम्बिनीका ‘हेभिवेट’ नेताको रस्साकस्सी, आधा दर्जन बढीको दाबी
बुटवल : एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ। महाधिवेशनको सरगर्मी बढिरहँदा एमालेको ‘गढ’ मानिने लुम्बिनी प्रदेशबाट पदाधिकारीमा दाबी गर्ने नेताहरूको दौडधुप पनि तीव्र बनेको छ।
सार्वजनिक रूपमा मुख नखोले पनि आन्तरिक लबिइङमा लुम्बिनीका ‘हेभिवेट’ नेताहरू सक्रिय देखिएका छन्। दशौं महाधिवेशनमा लुम्बिनी प्रदेशले पदाधिकारीमा बलियो उपस्थितिसहित ‘रेकर्ड’ नै कायम गरेको थियो।
तत्कालीन समयमा सात जना पदाधिकारी लुम्बिनीबाटै चुनिएका थिए। साथै ५२ जना केन्द्रीय सदस्य र १० जना विभिन्न आयोगमा पुगेका थिए।
यो विरासतलाई कायम राख्दै ११औं महाधिवेशनमा पनि लुम्बिनीबाट आधा दर्जनभन्दा बढी नेताले पदाधिकारीमा दाबी पेश गर्ने देखिएको छ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित छ।
शीर्ष नेतृत्वमै प्रतिस्पर्धा हुने भएपछि बन्ने प्यानलमा लुम्बिनीका नेताहरू बाँडिने सम्भावना छ। यद्यपि, जुनसुकै प्यानलबाट भए पनि लुम्बिनीका ६ जनाभन्दा बढी नेता पदाधिकारीको दौडमा छन्।
दशौं महाधिवेशनबाट लुम्बिनीले युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल गरी दुई उपाध्यक्ष, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली तथा सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र टोपबहादुर रायमाझी पाएको थियो।
रायमाझी हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहे पनि बाँकी सबै नेताहरू पदोन्नति वा सोही पदमा दोहोरिने दाउमा छन्।
एमाले राजनीतिमा प्रभावशाली छवि बनाएका निवर्तमान उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल र निवर्तमान महासचिव शंकर पोखरेल लुम्बिनीका मात्र नभई राष्ट्रिय राजनीतिका केन्द्रविन्दु हुन्। दुवै नेता अध्यक्ष ओलीको विश्वासपात्र मानिए पनि उनीहरूबीच आन्तरिक प्रतिस्पर्धा चलेको पाइन्छ।
रुपन्देहीलाई आफ्नो राजनीतिको आधार बनाएका पौडेल २०५० सालदेखि निरन्तर शक्तिको केन्द्रमा छन्।
चार पटकसम्म संसदीय निर्वाचन जितेका पौडेल यसपटक ‘वरिष्ठ उपाध्यक्ष’ बन्ने चर्चा छ। अध्यक्ष ओलीले विधान संशोधन गरेरै भए पनि पौडेललाई व्यवस्थापन गर्न सक्ने एमाले वृत्तमा गाइँगुइँ छ।
अर्कोतर्फ, दाङबाट राजनीतिमा आएका शंकर पोखरेल महासचिवमै दोहोरिने सम्भावना बलियो छ। २०५१ को मध्यावधि र २०७४ को प्रदेश सभाबाहेक जनमतमा साह्रै कमजोर देखिए पनि ओलीको ‘ब्याकिङ’का कारण उनी सधैँ पार्टीको निर्णायक तहमा छन्।
नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भए पनि ओलीले उनलाई स्थायी कमिटीमा राखेर महत्त्वपूर्ण जिम्मेवारी दिएका थिए। जबजलाई मार्गदर्शक सिद्धान्तका रूपमा व्याख्या गर्न सिपालु पोखरेल फेरि पनि ओली प्यानलको मुख्य सारथी बन्नेछन्।
गुल्मी क्षेत्र नं. १ बाट राजनीति गर्दै आएका नेता प्रदीप ज्ञवाली पनि ओली प्यानलबाटै पदाधिकारीमा सुरक्षित हुन चाहन्छन्। ज्ञवाली उपमहासचिवबाट उपाध्यक्ष वा महासचिवमा उक्लने दाउमा छन्।
यस्तै, रुपन्देही क्षेत्र नं. १ बाट सांसदमा निर्वाचित भइसकेका नेता छविलाल विश्वकर्मा सचिवबाट ‘अपग्रेड’ हुने लाइनमा छन्।
विद्यार्थी राजनीति हुँदै एमालेको मूलधारमा स्थापित विश्वकर्मा दलित समुदायको प्रतिनिधित्व गर्दै माथिल्लो तहमा पुग्ने नेता हुन्। उनी पनि आफ्नो अनुभव र योगदानको कदर हुनुपर्ने भन्दै लबिइङमा छन्।
उता अर्को प्यानलतर्फ अध्यक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दिन लागिरहँदा नेता गोकर्ण विष्ट उनको प्यानलबाट महासचिवको उम्मेदवार बन्ने चर्चा छ।
गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भइसकेका विष्ट आम कार्यकर्तामाझ निकै लोकप्रिय छन्। नवौं र दशौं महाधिवेशनमा लगातार सचिव जितेका विष्ट यसपटक कार्यकारी पदमै दाबी गरिरहेका छन्।
यस्तै, एमालेका पाका नेता युवराज ज्ञवाली पनि पदाधिकारीमै रहन चाहन्छन्। दाङबाट राष्ट्रिय राजनीतिमा स्थापित ज्ञवाली पनि पोखरेल खेमाबाटै उम्मेदवार बन्ने सम्भावना छ।
पदाधिकारीमा आँखा लगाउने नयाँ अनुहार
पुराना अनुहार मात्र होइन, लुम्बिनीबाट पदाधिकारीमा प्रवेश गर्न चाहने नयाँ आकांक्षीहरूको सूची पनि लामो छ।
हालै एकीकृत समाजवादीबाट एमाले फर्किएकी गुल्मीकी नेतृ रामकुमारी झाँक्री सचिव बन्नसक्ने चर्चा छ। उनी समाजवादीमा हुँदा पनि सचिव नै थिइन्।
यसैगरी प्युठानका सूर्य थापा, रुपन्देहीका खिमलाल भट्टराई, पाल्पाका ठाकुर गैरे र रुपन्देहीकै लीला गिरीले पनि पदाधिकारीमा इच्छा देखाएका छन्।
पत्रकारिताबाट राजनीतिमा स्थापित सूर्य थापा र अनेरास्ववियुको राजनीतिबाट आएका पाल्पा सांसद ठाकुर गैरे सचिव पदका दाबेदार हुन्।
गैरे पोखरेल समूहबाट सचिव लड्ने सम्भावना छ। राष्ट्रिय सभाबाट राजीनामा दिएर पनि गत निर्वाचनमा टिकट नपाएका खिमलाल भट्टराईलाई ओली समूहले सचिवमा समेट्न सक्ने आँकलन गरिएको छ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा हालका संसदीय दलका नेता लीला गिरी पनि पदाधिकारीमा समेटिनुपर्ने आवाज उठाइरहेका छन्।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले ११औं महाधिवेशनमा लुम्बिनीको उपस्थिति विगत झैँ बलियो रहने दाबी गरे।
उनले भने, ‘हाम्रा नेताहरूको अनुभव र योगदानको कदर हुनेछ। यसपटक पदाधिकारीमा मात्र होइन, केन्द्रीय सदस्यमा पनि लुम्बिनीबाट धेरै युवाले अवसर पाउनेछन्।’
मंसिर २७, २०८२ शनिबार १०:२५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।