सल्लाघारीमा एमालेको महाधिवेशन : प्रचण्ड र देउवासहित १६ दलका नेतालाई निम्तो, तीन लाख उपस्थित हुने दाबी

सल्लाघारीमा एमालेको महाधिवेशन : प्रचण्ड र देउवासहित १६ दलका नेतालाई निम्तो, तीन लाख उपस्थित हुने दाबी
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा आयोजना हुने भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन हुँदैछ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने उनको दाबी छ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न १६ वटा राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ।

महाधिवेशन जनपरिचालन समितिका सञ्चालक एवं स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले मित्रराष्ट्रका कूटनीतिक नियोग तथा विदेशी पार्टीका प्रतिनिधिहरूबाट शुभकामना सन्देश प्राप्त भइरहेको जानकारी दिए।

एमालेले महाधिवेशनका लागि लिच्छविकालीन कलाकौशल झल्किने भव्य मञ्च निर्माण गरेको छ। राजा हरिदत्तले स्थापना गरेको ऐतिहासिक चाँगुनारायण मन्दिरको मुख्य स्वरूप र उपत्यकाका अन्य सम्पदाहरू एकै ठाउँमा देखिने गरी मञ्च सजाइएको छ।

टाढा रहेका सहभागीले पनि वक्तालाई स्पष्ट देख्न सकून् भनेर मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन्।

त्यस्तै, तीन किलोमिटर परसम्म सुन्न सकिने गरी ११५ वटा ‘साउन्ड सिस्टम’ जडान गरिएको छ। मञ्च अगाडि विशिष्ट पाहुना र प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ।

महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार मञ्चमा कलाकारहरूले राष्ट्रिय एकता झल्काउने सांगीतिक प्रस्तुति दिनेछन्।

उद्घाटन सत्रलाई प्रविधिमैत्री बनाइएको छ। मञ्चमा निर्मित चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत बालेर महाधिवेशनको उद्घाटन गर्नेछन्।

साथै, ११औं महाधिवेशनको प्रतीकस्वरूप ११ वटा झण्डामध्ये १० वटा सुरुमै र एउटा झण्डा रिमोटमार्फत फहराउने तयारी गरिएको छ।

महाधिवेशनलाई व्यवस्थित र सुरक्षित बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक र ५०० बढी ‘ड्रेसकोड’ सहितका स्वयंसेवक परिचालन गरिएको छ।

ट्राफिक व्यवस्थापनका लागि कोटेश्वरबाट आउने सवारी साधनलाई गठ्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको चौरमा र काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित ‘भाइरल प्लानिङ’मा पार्किङको व्यवस्था मिलाइएको छ।

उद्घाटन अघि गठ्ठाघर र जगातीबाट र्यालीसहित सहभागीहरू मञ्चस्थल प्रवेश गर्नेछन्।

मंसिर २७, २०८२ शनिबार ०७:५०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।