एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै सोझै फाइनलमा स्थान बनाएको हो।

उता लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै उपाधि यात्रा तय गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधिको प्रमुख दाबेदार टोली हो। गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिम, यसपटक भने उपाधि जित्ने लक्ष्यमा छ।

यस्तै, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो।

यसपटक उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ट्रफी भित्र्याउने दाउमा छ। लिग चरणमा यी दुई टोलीबीच भएको खेलमा भने सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो।

एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ लाख पाउनेछ। त्यस्तै, तेस्रो हुनेले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।

मंसिर २७, २०८२ शनिबार ०७:२१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।