जापानको उत्तरी तटमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीपछि ६ हजारभन्दा बढी विस्थापित

जापानको उत्तरी तटमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीपछि ६ हजारभन्दा बढी विस्थापित

एजेन्सी : जापानमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरी तटमा सुनामीको चेतावनी जारी गरिएको छ।

जापानी मौसम अधिकारीहरूले भूकम्पका कारण समुद्री सतहमा उतारचढाव देखिएको बताएका छन्। यद्यपि, तत्कालका लागि कुनै ठूलो क्षतिको चिन्ता भने नरहेको बताइएको छ।

भूकम्पपछि सावधानी अपनाउँदै जापानको मुख्य टापुको सबैभन्दा उत्तरी प्रान्त, आओमोरी प्रिफेक्चरका तटीय इलाकाबाट ६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

केही दिनअघि मात्रै सोही क्षेत्रमा ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो, जसमा ५० जनाभन्दा बढी घाइते भएका थिए।

अधिकारीहरूले अझै ठूलो भूकम्प जान सक्ने चेतावनी दिँदै नागरिकहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कता (हाई अलर्ट) मा रहन अपिल गरेका छन्।

यी लगातारका भूकम्पका झट्काहरू यस्तो समयमा आइरहेका छन्, जतिबेला जापानले आफ्नो प्रशान्त महासागरीय तटमा ‘मेगा भूकम्प’ अर्थात् महाभूकम्पको आशंका गरिरहेको छ।

विज्ञहरूले आगामी ३० वर्षभित्र यस्तो विनाशकारी भूकम्प आउने सम्भावना ६० देखि ९० प्रतिशत रहेको चेतावनी दिएका छन्।

मंसिर २६, २०८२ शुक्रबार १३:४२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।