आधा कार्यकाल सकिँदा सुशीला कार्की मन्त्रिपरिषद् विस्तारमै व्यस्त, थपिए चार नयाँ मन्त्री

आधा कार्यकाल सकिँदा सुशीला कार्की मन्त्रिपरिषद् विस्तारमै व्यस्त, थपिए चार नयाँ मन्त्री

काठमाडौं : सुशासनको माग राख्दै भएको जेन-जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको आधा कार्यकाल सकिन लाग्दा पनि मन्त्रिपरिषद् विस्तारको क्रम रोकिएको छैन।

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य म्यान्डेट पाएको सरकारले शुक्रबार चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेको छ।

भदौ २७ गते नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारको तीन महिना बितिसक्दा पनि पूर्णता दिन नसकेपछि आज थप चार मन्त्री नियुक्त गरेकी हुन्।

निर्वाचन आउन करिब तीन महिना मात्र बाँकी छँदा सरकारको ध्यान निर्वाचनको तयारीमा लाग्नुपर्नेमा मन्त्रिपरिषद् विस्तारमै लगाएकी छन्।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ४ जना नयाँ मन्त्री नियुक्त गरेका छन्।

पेशाले अधिवक्ता रहेका कुमार इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्न लाग्दा नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाउँदैछन्।

साथै जनस्वास्थ्यविद् तथा लेखक माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सुम्पिन लागेकी प्रधानमन्त्री कार्कीले पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक रहेकी श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउँदैछिन्।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै दिउँसो ३ बजे शीतल निवासमा हुने तय गरिएको छ।

१० सदस्यीय रहेको मन्त्रिपरिषद् आजको विस्तारपछि १४ सदस्यीय बनेको छ। यसअघि प्रधानमन्त्री कार्कीले गत कात्तिक ९ गते तेस्रो पटक विस्तार गर्दै डा. सुधा शर्मालाई स्वास्थ्य र बब्लु गुप्तालाई खेलकुदमन्त्री बनाएकी थिइन्।

बिहीबार मात्रै राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी प्रधानमन्त्री कार्कीले आज चौथो पटक विस्तारलाई औपचारिकता दिएकी हुन्।

मंसिर २६, २०८२ शुक्रबार १२:४४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।