मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे
मुस्ताङ : जिल्लाको घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन्।
स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ।
किसान परियारको मार्फास्थित गाउँभित्रको भेडाच्याङ्ग्रा खोरमा ४५ भेडाच्याङ्ग्रा रहेका थिए। तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए।
यसबाट करिब रु छ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल जाँदै गरेको बताए।
पछिल्लो समय मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै जान थालेको छ। हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातिहरु चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन्।
हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरूको पशुधनमा क्षति पुर्याउने गरेको छ।
मंसिर २६, २०८२ शुक्रबार ०९:५४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।