रास्वपाद्वारा समानुपातिक उम्मेदवारी दर्ताको म्याद पुस ५ गतेसम्म थप
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी दिने म्याद थप गरेको छ।
बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारी आवेदन दिने म्याद आगामी पुस ५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्तिअनुसार पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका नयाँ सदस्यहरूको प्राविधिक आवश्यकता र पार्टीको उच्च संवाद समितिमार्फत भइरहेको सम्भावित सहकार्य तथा एकताको प्रयासलाई मध्यनजर गर्दै म्याद थप गरिएको हो।
साथै, जेन-जी अगुवा र सरकारबीच भएको हालैको सम्झौतालाई समेत ध्यानमा राखेर यो निर्णय लिइएको रास्वपाले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘परिस्थितिजन्य अवस्था र आवश्यकताका आधारमा पार्टी सचिवालयले प्राप्त आवेदनहरूको छनोट प्रक्रिया प्रारम्भ गर्ने लगायत कुनै पनि समय उम्मेदवारी आवेदन दिने प्रक्रिया बन्द गर्ने तर्फ समेत ध्यानाकर्षण गराइन्छ।’
रास्वपाले यसअघि नै समानुपातिक उम्मेदवार बन्न चाहनेहरूका लागि आवेदन खुला गरेको थियो। अब आकांक्षीहरूले पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
मंसिर २६, २०८२ शुक्रबार ०८:४७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।