मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र सुरु

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र सुरु

दमौली : मुग्लिन-पोखरा सडक विस्तार योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६, मौरीओडारमा लामो समयपछि कालोपत्रे सुरु भएको छ।

पहिरोको उच्च जोखिम र विगतमा सडकछेउको पर्खाल भत्किएका कारण यो स्थानमा कालोपत्रको काम रोकिएको थियो।

सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार मौरीओडारमा बाँकी रहेको दुईतर्फी कालोपत्रको काम अहिले अघि बढाइएको हो।

हाल पहिलो चरणमा दुई लेनको कालोपत्र भइरहेको र त्यो सकिएपछि बाँकी दुई लेनमा काम गरिने उनले जानकारी दिए।

आयोजनाको प्रगति विवरणपश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।

कुल ३८.८८ किलोमिटर लामो यो खण्डमध्ये ३७.४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्रे सकिएको छ। जसमा २९.६१ किलोमिटर सडक चार लेन र ७.७९ किलोमिटर सडक दुई लेनमा कालोपत्रे सम्पन्न भइसकेको छ।

यस खण्डमा निर्माण हुनुपर्ने १२ वटा पुलमध्ये ११ वटाको निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा बन्ने पुल निर्माणाधीन अवस्थामा छ।

गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य रहेकामा २३.०६ किलोमिटर सम्पन्न भएको थियो।

त्यस्तै, लक्ष्य बमोजिमका ११ वटै पुल निर्माण भएका छन् भने ६६ मध्ये ६५ कल्भर्ट र ४५.२ किलोमिटर नाला निर्माणको काम सकिएको आयोजनाले जनाएको छ।

चिनियाँ कम्पनी 'एनहुई केयुएन हाइवे एन्ड ब्रिज'ले ७ अर्ब ४० करोड रुपैयाँमा ठेक्का पाएको यो खण्डको सम्झौता २०७८ जेठ ३ गते भएको थियो। सम्झौता अनुसार आयोजना सम्पन्न गर्ने म्याद २०८२ पुस १६ गतेसम्म रहेको छ।

मंसिर २६, २०८२ शुक्रबार ०८:४४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।