युवा संघले कुलमानलाई भेटेपछि नागढुङ्गा-मलेखु सडक शुक्रबार र शनिबार बन्द नहुने

युवा संघले कुलमानलाई भेटेपछि नागढुङ्गा-मलेखु सडक शुक्रबार र शनिबार बन्द नहुने

मलेखु : सडक स्तरोन्नतिका क्रममा दैनिक पाँच घण्टा आंशिक बन्द गरिँदै आएको नागढुङ्गा-मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ।

एमालेको ११औं केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई मध्यनजर गर्दै सवारी आवागमन सहज बनाउन सडक बन्द नगरिने भएको हो।

नागढुङ्गा-मुग्लिन सडक आयोजनाले मंसिर २४ गतेदेखि सडक आंशिक बन्द गरेर निर्माण कार्य गरिरहेको थियो। आयोजनाले दुई दिन सडक खुला राख्ने र त्यसपछि भने पूर्ववत कार्यतालिका अनुसार नै तोकिएको समयमा सडक बन्द गरेर काम अघि बढाउने जनाएको छ।

नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले भने, ‘स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी मंसिर २४ देखि पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर काम गरिरहेका थियौँ। तर, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौँ।’

यसअघि बुधबार युवा सङ्घको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेको थियो।

सडक विभागले हाल काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा-पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ भने धादिङतर्फ नौबिसे-मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई तीव्रता दिएको छ।

मंसिर २६, २०८२ शुक्रबार ०७:२०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।