कम्युनिष्ट आन्दोलनका साक्षी राजेश बान्तवाका हिजोका कुरा : पञ्चायतको ‘सुसेली’देखि गणतन्त्रको ‘निराशा’सम्म
काठमाडौं : रातको समयमा आफ्नै सहयोद्धा चिन्न ‘सुसेली’को भाका मिलाउनुपर्ने, एउटाले बोकेको च्यातिएको पत्रिकाको टुक्रा अर्कोसँग जोडाएपछि मात्र ‘पासवर्ड’ मिल्ने- कुनै जासुसी चलचित्रको दृश्य जस्तो लाग्ने यो कथा राजेश बान्तवाको वास्तविक भोगाइ हो। पञ्चायती दमनका बेला १५ वर्ष भूमिगत हुँदा उनले यस्तै जोखिमपूर्ण तरिकाहरू अपनाएर संगठन विस्तार गरे।
कहिले 'गहत र मकै' को भरमा भोक टार्ने त कहिले प्रहरीलाई झुक्क्याउन टर्चलाइट बालेरै छोडिदिने बान्तवाको त्यो चलाखीपूर्ण भूमिगत जीवन आजको पुस्ताका लागि दन्त्यकथा जस्तै लाग्छ। वि.स. २००८ सालमा भोजपुरमा जन्मिएर राजनीतिमा मैदानमा होमिएका उनै बान्तवा, जसले हिजो क्रान्तिका लागि ज्यानको बाजी लगाए, आज ७० वर्षको उमेरमा आफ्ना ती रोमाञ्चक र सङ्घर्षपूर्ण विगतलाई शब्दमा उतारिरहेका छन्।
नेपालमा वामपन्थीहरूले जरो गाडिरहेको बेला देश र पिछडिएका जनतालाई अधिकार दिलाउन भनी उनी वामपन्थी राजनीतिमा होमिए। नेकपा को-अर्डिनेसनमा जोडिए राजनीतिक यात्रा सुरु गरेका उनी पछि मालेको केन्द्रीय सदस्य र ऋषि कट्टेलको नेतृत्वमा रहेको पार्टीमा केन्द्रीय सचिवालय सदस्य बने। राजनीतिक संघर्षको यात्राका क्रममा उनले ३ वर्ष जेल जीवन पनि बिताए। माओवादी विद्रोहीको बेलामा असुरक्षित महसुस गरी उनी ज्यान जोगाउन धरान छाडेर काठमाडौं आए। हाल उनी कुनै दलसँग आबद्ध छैन। लामो राजनीतिक यात्राका क्रममा संगालेका भोगाइ र अनुभव बान्तवाले उकेराको कोलम हिजोको कुराकानीमा यसरी साटे :
बाल्यकाल, शिक्षा र राजनीतिक यात्रा
मेरो जन्म वि.सं. २००८ सालमा भोजपुरमा भएको हो। सानो छँदा (८ वर्षको उमेर)मा धरान झरियो। भोजपुरमा हुँदा मैले प्राथमिक स्कुलसम्म पढेँ। धरान झरिसकेपछि त्यहाँको पब्लिक माध्यमिक विद्यालयमा ८ कक्षासम्मको अध्ययन भयो। म पहाडमा जन्मिएको भए तापनि मेरो हुर्काइ र पढाइ तराईमै भयो। भोजपुरमा कहिलेकाहीँ आउजाउ भए पनि हाम्रो बसाइ धरानमै भयो। यहाँ पढ्दापढ्दै फेरि म विराटनगरमा सरे। मलाई त्यति बेलाको वामपन्थी संगठनको प्रभावले तानेर विराटनगर पुर्याएको हो।
विराटनगर पुगेपछि मैले एसएलसी दिन पाइनँ। मलाई नेपालमा बसिखान नदिएपछि भारतको बदनामा पुगेर एसएलसी दिएको थिएँ। त्यहाँबाट एसएलसी पास गरेपछि म फेरि विराटनगर आएँ र महेन्द्र मोरङ कलेजमा भर्ना भएँ। आइएमा पहिलो वर्ष पढेँ, तर त्यसपछि भने मैले पढ्न पाइनँ। राजनीतिक सिलसिलामा मलाई ३० सालमा जेलमा कोचियो। पञ्चायतको विरोधमा लागेको हुनाले मलाई तत्कालीन सरकारले जेलमा कोचेको हो।
म राजनीतिमा प्रवेश गरेको चाहिँ २०२८ सालको झापा विद्रोहपछि हो। राजनीतिमा म सानैदेखि प्रभावित भएको हुनाले तत्कालीन समयमा वामपन्थी विचारधारातर्फ नजिक भएँ। ३० सालबाट भने म सक्रिय रूपमा राजनीतिमा लागेको हुँ। मेरो बुबाआमा, काका, मावल सबैको चाहना मलाई लाहुरे बनाउने थियो। त्यो समयमा लाहुरे नहुनेलाई त छोरी पनि दिँदैनथे। तर उहाँहरूको विचार र मलाई आर्मी बनाउने सोच विपरीत म राजनीतिमा लागेँ। अहिले मलाई त्यो कुराबाट कुनै त्यस्तो पछुतो लाग्दैन।
खगेन्द्र राईको हत्या र अरुण टाकिज काण्ड
म विराटनगरको जुट मिलमा काम गर्दै संगठन विस्तारमा खटिएको थिएँ। सोही स्थानमा क्षेत्रीय स्थानीय कमिटीको सचिवका रूपमा मैले काम थालेको थिएँ। यो ३१ सालको कुरा हो। खगेन्द्र राईलाई त्यो बेलाको प्रतिक्रियावादी (पञ्चायत सरकार) शक्तिबाट मारियो।
उनलाई कसरी मारियो भने, रानी मिल्स एरियामा ‘अरुण टाकिज’ भन्ने सिनेमा हल थियो। एक पटक भारत र चीनको सीमा युद्ध चलेको थियो। उसैको कथामा हिन्दी फिल्म ‘हम साया’ भन्ने निर्माण गरिएको रहेछ। फिल्ममा चाइनाका सेनाहरूले भारतीय सेनालाई लखेटेको र अन्त्यमा भारतीय सेनाले उताकोलाई सखाप पारेको देखाइएको थियो।
यो फिल्म हलमा चल्दा खगेन्द्र राई को-अर्डिनेशन केन्द्रमै थिए। त्यति बेला नेकपा माले पनि बनिसकेको थिएन। त्यो समयमा खगेन्द्र राई लगायत एक जना भट्ट थरका साथी पनि थिए। उनीहरूले ‘यस्तो फिल्म हलमा चलाउन दिनु हुँदैन, जलाउनुपर्छ’ भन्ने खालको निर्णय गरे। हामी त भर्खरको युवा जोस भएका मान्छे, ‘के खोज्छस् काना आँखो’ भनेझैँ भयो। त्यसपछि त्यो सबै ग्रुप मिलेर अरुण टकिज हलमा आगो लगायौं।
त्यो हल जलाएपछि पुलिसले मलाई चाहिँ पत्याएन। तर खगेन्द्र राईहरूलाई समात्यो। समातेर जेलमा लगिएका ती राईलाई प्रहरीहरूको दमनबाट ढड्नेसो (ढाडको नसा) खुस्काएर मारियो। त्यसको विरोधमा हामीले आन्दोलन चर्कायौं।
हाम्रो संगठनको नेता एक जना इन्डियन थिए, रामचन्द्र ठाकुर भन्ने। म त यो समयमा क्षेत्रीय कमिटीको सचिव थिएँ, यसको विरोधमा पम्प्लेटिङ गर्नुपर्यो भने, र गरियो पनि। तर, त्यसमा घुसेका मान्छेहरूले हामीलाई पक्रियो। पक्रेर राजकाज अपराध ऐनअन्तर्गत ६ को ४ दफा लगाएर तीन वर्ष कैद, तीन हजार जरिवाना वा दुवै सजाय हुनेछ भन्ने फैसला भयो। सोहीअनुसार मैले तीन वर्ष जेल जीवन बिताएँ। एक वर्ष विराटनगर कारागार र अर्को वीरगञ्ज जेलमा २ वर्ष सजाय काटेर म बाहिरिएँ।
जेल जीवनको कष्ट र भोक हड्ताल
मेरो जेल बसाइमा म सहित ११ जना परेका थियौं। त्यहाँ पुग्दाखेरि मान्छेहरू कुजिएर हिँड्ने गर्दा रहेछन्। अधिकांश लुतो लागेका मान्छेहरू, कोही रोगी, शरीरभरि घाउ नै घाउ भएका थिए। उनीहरूले नै पकाएको खाना खानुपर्ने बाध्यता थियो। हामीलाई राति लगेको थियो। बिहान खाना खाने समयमा हेरेको त घाउ नै घाउ भएको हातले प्लेटले उघाएर खाना हाल्थ्यो। ओहो, त्यो देखेपछि खानै मन लागेन।
अनि ट्वाइलेटको अवस्था पनि त्यस्तै बिजोग थियो। यस्तो पाराले त क्रान्ति जोखिममा पर्ने भो, हामी बिरामी भइयो भने तनावै हुने भयो भन्ने लाग्यो। अनि मसँग एउटा कोट थियो, कटराइजको। त्यो कोट बेचेँ। मरेर डेढ सय रुपैयाँमा बिक्यो। कसैले टोपी बेचे, कसैले कलम बेचे, कसैले के बेचेर जम्मा भएको पैसाले बिट नभएको (खुस्किगएको) हाँडी किन्यौँ। अनि मसिना प्लेटहरू र खाना पकाउने सामानहरू किनेर ल्याइयो। म खाना पकाउन एकदमै सौखिन थिएँ। म खाना पकाउँछु भनेर म आफैँ त्यो डिपार्टमा लागेँ। त्यो बेला दैनिक ७५ पैसा र डेढ पाउ चामल पाइन्थ्यो। यो सबै मेरो बचत भयो र व्यवस्थापन गरियो।
जेलमा अर्को ठूलो समस्या ट्वाइलेटको थियो। मान्छे भने भरिभराउ तर ट्वाइलेट भने तीन-चार वटा मात्र। ट्वाइलेट जाँदा पालो नपाएर मान्छेले बाहिरै फोहोर गर्थे। किनभने त्यो ट्वाइलेटमा जाँदा कहिल्यै पालो नआउने। लाइन लागेर बस्नुपर्नेले बाहिरै लुगा बिगार्थ्यो। अनि मैले सुधारका लागि आन्दोलन गर्ने कुरा राखेँ। कस्तो खालको आन्दोलन गर्ने त भन्दाखेरि कसैले भोक हड्ताल नगर्ने, त्यो त कायर हो भन्ने खालका कुराहरू निकाले। अन्तमा आमरण अनसन बस्ने कुरा भयो। अब को बस्ने त भन्ने छलफलमा कसैलाई ग्यास्ट्रिक भएको, कसैलाई केको समस्या, अन्तमा ‘तँ बलियो छस् तैँ बस’ भन्न थाले।
‘लौन त’ भनेर म नै बसेँ। अनसन बसेको ६ दिनमा १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरियो। त्यसमा खेलकुदको सामानदेखि पानी निकाल्ने कल ५० वटा थप्ने, ट्वाइलेट १० वटा थप्ने, पढ्नका लागि शिक्षक थप्ने लगायतका माग थिए। शिक्षक त थपेनन्, तर अरू भने भनेको भन्दा केही घटी भए पनि राखे। मेरो अनसन तोडाउन सिडिओ र डिएसपी जुस लिएर आएका थिए। त्यो पिएर अनसन तोडेको थिएँ। त्यसपछि मलाई वीरगञ्ज जेल ल्यायो। अरूलाई काठमाडौं लग्यो, मलाई त्यहीँ छाड्यो। यो ३१ सालपछिको कुरा हो।
जेलमुक्त भएपछि पुनः भूमिगत
जेल सजाय काटेपछि पनि सुख पाइएन। मलाई जेलबाट छोडे पनि त्यहाँका मान्छेहरूले भने, ‘माथि देखिकै आदेश हो, तपाईंले भोजपुरमा गएर डिएसपी कार्यालयमा महिनाको पहिलो दिनचाहिँ हाजिर हुनुपर्छ।’ त्यो आदेश आएको भनेपछि मैले पार्टीमा छलफल चलाएँ। छलफल चलाउँदा ‘के गरौँ त’ भन्दा ‘तपाईं भूमिगत हुनु’ भन्ने कुरा भयो। त्यो निर्णयपछि म ३४ सालतिर भूमिगत भएँ। यो अवधि मेरो १५ वर्षसम्म रह्यो। जनताको हकहित र पार्टीका लागि दौडिँदा मैले तीन वर्ष जेल र १५ वर्ष भूमिगत हुनुपर्यो । यो अवधिमा पटक-पटक गरेर म १० पटकभन्दा बढी समय जेल जाने आउने पनि भयो। तर लामो समय बसेको भनेको तीन वर्ष हो। २-३ महिनाको जेल बसाइको हिसाब नगर्ने हो भने तीन वर्ष मज्जाले जेल जीवन बिताइयो।
संगठन विस्तार, नेता र वैचारिक मतभेद
३६ सालपछि पार्टी पनि अर्धभूमिगत भयो। त्यसको प्रभाव मलाई पनि परिहाल्यो। यो समयमा नेकपा माले पार्टी भइसकेको थियो। ३४ सालअघि चाहिँ नेपाल कम्युनिष्ट पार्टी केन्द्र को-अर्डिनेशन भन्ने गरिन्थ्यो।
भूमिगत अवस्थामै म सुनसरी जिल्लाको सचिव भएँ। म सचिव हुँदा हामी तीन जना मान्छे मात्रै थियौं- चित्र निरौला, राजेश बान्तवा (म आफैँ) र भक्तबहादुर आले। ३४ सालमै हामी भूमिगत अवस्थामा रहँदा मदन भण्डारी को-अर्डिनेशन पार्टीमा समाहित हुन आउनुभयो। मदन भण्डारी मेरो नेतृत्वमा हुनुहुन्थ्यो। यता मदन भण्डारीसँग मिल्न आएको पार्टी भनेको फेरि पूर्वकै रातो झण्डा, मुक्ति मोर्चा लगायत पुष्पलालहरू रहेका थिए।
यही सिलसिलामा ३४ देखि ३६ सालसम्म जनमत संग्रहका लागि आन्दोलन भए। यो समयमा सोभियत संघ, रुस पतन भइसकेको हुनुपर्छ। मदन भण्डारीले ‘सोभियत रुस पतन गराइछाडे, अब राजनीतिक प्रतिस्पर्धाबाट पार्टीलाई अगाडि बढाउनुपर्छ। होइन भने हाम्रो कम्युनिष्ट पार्टीलाई अगाडि लैजान गाह्रो पर्छ’ भन्ने कुरा ल्याउनुभयो। प्रतिस्पर्धा भनेको चुनावमा सहभागी हुनुपर्छ भनेको हो।
हामीले त्यसमा प्रतिकार गर्यौं। त्यसमा सबैभन्दा बढी जुध्ने भनेको मै हुँ। हामी ‘अब एउटा दर्शन हुन्छ। फिलोसोफीको आधारमा नै राजनीति हुन्छ र समाज परिवर्तन गर्न सकिन्छ’ भन्नेमा पक्षमा थियौं। हामी माओत्सेतुङको सिद्धान्त र उनको दर्शनको पक्षमा थियौं। मैले ‘यस्तै पारा र हाम्रो गतिविधिले कम्युनिष्ट पार्टी सकिएर जान्छ’ भनेको थिएँ। नभन्दै अहिले नेपालमा कम्युनिष्ट पार्टी सकिएर गयो।
केपी ओलीसम्म आइपुग्दा नेपालमा कम्युनिष्ट पार्टीको साख सकियो। अहिले नेपाली जनताले कम्युनिष्ट पार्टीको नाम त्यति सुन्न पनि चाहेको जस्तो लाग्दैन, विश्वास पनि छैन।
त्यो समयमा मेरो सम्पर्कमा माधवकुमार नेपाल, त्यही इन्डियन रामचन्द्र ठाकुर (को-अर्डिनेशनको केन्द्रीय सदस्य) थिए। यी इन्डियन कसरी जोडिए भन्ने प्रश्नमा, सोही एरियामा आउने जाने गर्थे। अनि ‘कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय हुन्छ’ भन्ने गरिन्थ्यो। सोही हिसाबले गर्दा उनी जोडिएका रहेछन्। पछि उनलाई पाँचौँ महाधिवेशनबाट हटाइयो।
सिपी मैनाली जमिन्दारको छोरो हुन्। उनी कम्युनिष्ट जस्तो थिएनन्। पहिलो कुरा त मान्छे कम्युनिष्ट भएर मात्रै हुँदैन, सिद्धान्त र दर्शन सबै बुझेको हुनुपर्ने हुन्छ। उहाँको स्वभाव अलिक फरक थियो। अलिक बढी रिसाउने, आफूले भनेको जस्तै हुनुपर्ने, उहाँमा जिद्दीपना असाध्यै धेरै थियो। बाँकी उहाँको बुझाइ राम्रै थियो। अहिले उहाँ नेपालमा राजतन्त्र चाहिन्छ, नत्र नेपाल सिक्किमीकरण हुन्छ भन्न थाल्नुभएको छ। त्यो उहाँको स्वभाव हो।
मैले भेट्दा माधवकुमार नेपाल ‘नेपाल बैंक’ रानी मिल्स एरिया विराटनगरमा जागिरे हुनुहुन्थ्यो। उहाँ पनि धनाढ्य परिवारमै जन्मिएको मान्छे हो। अलिक बाहुनवादी-बाहुनवादी खालको चिन्तन राख्नुहुन्थ्यो। उहाँमा पार्टी हाँक्न सक्ने क्षमता छैन। त्यो समयमा पनि उहाँमा त्यस्तो क्षमता मैले भेटेको थिइनँ। माधवकुमार नेपालभन्दा त सिपी मैनाली नै नेतृत्व क्षमतामा अब्बल थिए। मदन भण्डारीपछि उहाँ नेतृत्वमा आउनुभयो, त्यो उहाँलाई चिट्ठा परेको हो।
भूमिगत जीवनका कठिनाइ : गहत र मकैको कथा
भूमिगत समयमा राति-राति संगठन विस्तार गर्नुपर्ने हुन्थ्यो। यही संगठन विस्तारका क्रममा म धनकुटा पुगेको थिएँ। एउटा घरमा पुगेर ‘हामीले खाना खान्छौं है आज यतै’ भन्यौं। त्यो घरमा चामलको भात रहेनछ। उहाँहरूले खानामा अलिकति गहत, अनि मकै थालमा पस्किदिनुभएको थियो। एकापट्टि गहत र अर्कोतर्फ भुटेको मकै थियो। मैले भात भनेर यस्तो कहिल्यै खाएको थिइनँ। सोचेँ- पहिला गहत खान्छु, अनि त्यसपछि मकै खान्छु।
गहत मुखमा हालिसक्दा निलिन्छ होला भनेको त निलिँदैन, घाँटीमा अड्किन्छ। कहिल्यै खाएको भए पो थाहा हुनु! पानी पिउँदै ठेल्दै गर्छु, हुँदै हुँदैन। अनि मभन्दा अलि उतापट्टि हजुरआमा बस्नुभएको थियो। उहाँले भन्नुभयो, ‘ए, यो बाबुले त खानै जानेन। यो त मकैसँग मुछेर खानुपर्छ, नत्र अड्किन्छ।’ अनि मैले के बुझेँ भने, ‘ए, अड्किँदो रहेछ र पो मकै राखिदिएको रहेछ’ भनेर खाएँ।
यो ४० साल हाराहारीको कुरा हो। त्यति बेला खाने भनेको अर्को ‘टाँकीको मुन्टा’ र ‘धुन खाएको मकै’को भात हुन्थ्यो। टाँकीको मुन्टा मलाई तितो लाग्ने। क्याप्प मुखमा हाल्दा फुत्तै निकिस्ने। अब के गर्ने ? क्रान्ति गर्नु छ। त्यो समय खानामा समस्या नै हुन्थ्यो। पेटभरि खान कहाँ पाइन्थ्यो र ? जे भेट्यो त्यही खायो, हिँड्यो।
सुराकी र सम्पर्क सूत्र: सुसेली र पत्रिका
कुनै ठाउँमा मिटिङ बस्नु छ भने आधा-आधा घण्टाको फरकमा त्यो ठाउँमा प्रवेश गरिन्थ्यो। त्यो समयमा रातको समयमा मिटिङ हुने, अहिलेको जस्तो बिजुली बत्ती हुँदैनथ्यो। अँध्यारोमा छामेर ‘कुन घरमा मिटिङ बस्ने’ भनिएको छ, त्यहाँ लुसुक्क-लुसुक्क छिर्ने हो। आँखा कमजोर भएकाहरूलाई हातले समाएर लगिन्थ्यो। मिटिङ सकिएपछि निस्किने पनि सोही शैली हो। गाउँलेले पनि थाहा पाउनु भएन। प्रहरीलाई त थाहा दिने कुरै भएन, नत्र जेलनेलमा परिहालिन्थ्यो।
अब आफ्नो मान्छे कसरी चिन्ने भन्ने कुरामा के हुन्थ्यो भने, म भोजपुर या संखुवासभा गएँ भने त्यहाँ चिठीको भर हुन्थ्यो। कस्तो खालको भने, न्युज पेपर (पत्रिका) बीचमा च्यात्ने। एउटा च्यातेको टुक्रा उता पठाइदिने, अनि अर्को आफूले बोक्ने। अनि सोध्दै-सोध्दै त्यहाँ पुग्यो। पुगिसकेपछि आफूले लगेको पत्रिकाको अक्षर र अगाडि पठाएको अक्षर (टुक्रा) पत्रिकामा जोडाउँदा मिल्यो भने आफ्नो मान्छे, मिलेन भने होइन। मिल्यो भने सट्याक-सुटुक्क कता मिटिङ छ, त्यता हुल्थेँ।
अर्को हामीले आफ्नो मान्छे चिन्ने तरिका भनेको ‘सुसेल्दा’ मिल्नुपर्ने हुन्थ्यो। त्यसको हामीलाई तालिम नै हुन्थ्यो। मैले सुसेल्दा र तपाईंले सुसेल्दाको शैली ठ्याक्कै मिल्यो भने हामी एउटै संगठनका मान्छे हुन्थ्यौँ। एक पटक सुसेल्दा नमिलेपछि टर्च लाइट बाटैमा छाडेर भाग्नु परेको अवस्था थियो।
एक पटक सुनसरीमा के भयो भने, मैले सुसेल्दा अर्को मान्छेको सुसेलाइ मिलेन। झन्डै-झन्डै मिलेको थियो, तर ठ्याक्कै हाम्रो भाषाको सुसेल्याइ मिलेन। नमिलेपछि मैले हातमा बोकेको टर्च लाइट त्यही आलीको डिलमा नै बालेर राखिदिएँ, अनि चतरातर्फ भागेँ। त्यो टर्च लाइट बलिरहेको देख्दा ‘मान्छे त्यहीँ छ’ भन्ने उनीहरूको बुझाइ भयो। तर म त्यहाँबाट भागेर चतरा आइपुगेको थिएँ। पछि मैले बुझ्दा त्यो मान्छे पहिला हाम्रै संगठनको रहेछ, स्कुलको शिक्षक पनि। पछि प्रहरीले पक्रियो, कुटपिट गर्यो, टर्चर दियो। के-के सजाय पाएपछि उसले संगठन छाडेको रहेछ। यस्ता घटनाहरू धेरै नै छन्। भन्न थालियो भने कति दिन लाग्छ (हाहाहा)।
द्वन्द्वकाल र विस्थापन: ३५ सय कुखुरा छाडेर काठमाडौं
मैले भोजपुर छाडेर धरान बस्न थालेको राम्रै समय भएको थियो। धरानमा हुँदाको कुरा हो। मैले नेकपामा हुँदाको समयमा पढाएको, सिकाएको भाइहरू माओवादी पार्टीमा लागे। उनीहरूले ‘सरलाई हामी लिएर जान्छौं’ भन्न थाले। तर मैले उनीहरूलाई के भन्थेँ भने, ‘दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी वाद उस्तै-उस्तै हो। त्यसको बारेमा बुझ्नुपर्छ।’
मैले यसो भन्दा पनि उनीहरू दिनदिनै आउन थाले। हामी भूमिगत हुँदाको समयभन्दा फरक, दिनदिनै २० जना २५ जनाको समूहमा घरमा आउन थाले। उनीहरू आउने, अनि श्रीमतीलाई ‘भाउजू हामी २० जना जति छौं खाना पकाउनु’ भन्ने। त्यो कुरा थाहा पाएपछि पुलिसले घर घेरा हान्ने भयो। त्यो कुरा मेरो सालो (भाइ पर्ने) जो नेवार पुलिस थियो, उसले मलाई सूचना दियो- ‘तपाईं भागिहाल्नुस्, भोलि पुलिसले घर घेर्दै छ।’
अब राति नै गाडी पाइने पनि होइन। कतै केही छैन। म इनरुवा आएँ र रात्रि बस चढेर काठमाडौं लागेँ। मेरा केटाकेटी घरमै थिए। उनीहरूलाई पनि दुवैतर्फकाले दिनदिनै टर्चर दिन थालेपछि धरानमा भएको घर, अनि मैले पालेर राखेका ३५ सय कुखुरा त्यत्तिकै छाडेर हामी सबै काठमाडौं आयौं। यहाँ आएर कोटेश्वरमा एउटा सानो चिया पसल खोलेर बस्यौं। त्यहाँ भएको कुखुरा छरछिमेकीलाई नै ‘खानु’ भनिदियौं। त्यसबाट एक पैसा पनि आएन। यो ५२-५४ सालको कुरा हो।
यति बेला म खासमा मालेको केन्द्रीय कमिटीमा थिएँ। यो कुरा बुझेपछि सेना प्रहरीले दुःख दिन छाड्यो। अहिले त म कुनै पार्टीमा छैन, स्वतन्त्र छु। ऋषि कट्टेलको पार्टीमा भने केन्द्रीय सचिवालय सदस्यबाट बाहिरिएको हुँ।
मंसिर २५, २०८२ बिहीबार २०:०२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।