अध्यागमन भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको जालो : सहसचिव भट्टराईसहितमाथि मुद्दा, गृहमन्त्री लेखकसहित छानबिनमै
काठमाडौं : बहुचर्चित भिजिट भिसा प्रकरणको अनुसन्धान सक्काउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई मुख्य कसुरदार दाबीसहित संगठित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा अभियोग पत्र दायर गर्यो।
तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दवाडी लगायत उनको सचिवालयका कर्मचारीहरू समेत जोडिएको यो भ्रष्टाचार प्रकरणले संसद् लामो समयसम्म अवरुद्ध भएको थियो। तर बिहीबार अदालतमा मुद्दा दायरहुँदा गृह मन्त्रालयको नेतृत्व र कर्मचारी संयन्त्र प्रतिवादी बनेका छैनन्।
अभियोग पत्रमा प्रमुख अध्यागमन अधिकृत भट्टराईको डायरी र नेपाल टेलिकमबाट प्राप्त कल डिटेल विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री प्रसाद तिवारी र स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको देखिएको उल्लेख छ।
भट्टराईको तत्कालीन गृहमन्त्री लेखक, गृह सचिव गोकर्णमणि दवाडी, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने देखिएको भन्दै त्यसबारे भने अनुसन्धान जारी रहेको उल्लेख छ।
बिहीबार दायर भएको अभियोग पत्रमा भट्टराईसहित अन्य ६ जना व्यक्ति, ग्रिनलाइन होलिडेज र फेमली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालिमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइएको छ।
भ्रष्टाचारको संगठित स्वरुप : ७९ लाख बढी बिगो
अख्तियारको अनुसन्धानले तीर्थ राज भट्टराईले २०८१ असोज २३ गतेदेखि २०८२ जेठ ७ सम्म प्रमुख अध्यागमन अधिकृतको रूपमा काम गर्दा बदनियतपूर्वक २ सय ५७ जना नेपाली यात्रुहरूलाई भिजिट भिसामा विदेश पठाउँदा सेटिङ गरी ठूलो रकम घुस लिएको दाबी गरेको छ।
|
सि.नं.
|
नाम/पद
|
बिगो (रु.)
|
कसुर
|
|
१
|
तिर्थ राज भट्टराई (तत्कालीन प्रमुख अध्यागमन अधिकृत)
|
७९ लाख ८० हजार (भ्रष्टाचार), १ करोड ३ लाख ७९ हजार (सम्पत्ति शुद्धीकरण)
|
भ्रष्टाचार निवारण ऐन/सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन अन्तर्गत कैद र जरिवाना माग दाबी।
|
|
२
|
बाल कृष्ण खड्का (ग्रिनलाइन होलिडेज प्रा.लि. अध्यक्ष)
|
३० लाख २० हजार
|
घुस रिसवत दिने/लिने कार्यमा संलग्न।
|
|
३
|
दिपक भण्डारी (फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रा.लि. सञ्चालक)
|
१० लाख ६० हजार
|
घुस रिसवत दिने/लिने कार्यमा संलग्न।
|
|
४
|
यज्ञ राज अर्याल (तत्कालीन अध्यागमन अधिकृत)
|
८ लाख
|
घुस रिसवत लिने/बाँडफाँड गर्ने कार्यमा संलग्न।
|
|
५
|
कविता पौडेल
|
७९ लाख ८० हजार (भ्रष्टाचार), १ करोड ३ लाख (सम्पत्ति शुद्धीकरण)
|
घुस रिसवत परिचालन गर्ने मतियारको भूमिकामा।
|
|
६
|
खेम प्रसाद सुवेदी
|
७९ लाख ८० हजार (भ्रष्टाचार), १ करोड ३ लाख (सम्पत्ति शुद्धीकरण)
|
घुस रिसवत परिचालन गर्ने मतियारको भूमिकामा।
|
|
७
|
राम खड्का (ग्रिनलाइन होलिडेज प्रा.लि. संस्थापक)
|
३० लाख २० हजार
|
घुस लेनदेनमा संलग्न।
|
|
८
|
ग्रिनलाइन होलिडेज प्रा.लि.
|
३० लाख २० हजार
|
घुस दिने कार्यमा संलग्न।
|
|
९
|
फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रा.लि.
|
१० लाख ६० हजार
|
घुस दिने कार्यमा संलग्न।
|
उनले कोड भाषा प्रयोग गरेर भिजिट भिसामा विदेश जाने यात्रुहरूसँग रकम लिने गरेको विस्तृत विवरण अभियोग पत्रमा उल्लेख छ। उनको डायरीमा कोड भाषामा विदेश जाने यात्रुको नामावलीसँगै साङ्केतिक हिसाबकिताब फेला परेको अभियोग पत्रमा उल्लेख छ।
उनको डायरीमा महिला यात्रुको सङ्ख्यालाई ०.४ (रू. ४०,०००) र पुरुषको सङ्ख्यालाई ०.२ (रू. २०,०००) ले गुणन गरी 'Clear to Balk' भनी टिपोट गरेको भेटिएको छ। यो कोड भाषाले प्रति-व्यक्ति तोकिएको घुसको दर पुष्टि गरेको अख्तियारको दाबी छ।
भट्टराईले पार्सलका नाममा बालकृष्ण खड्काको भेनोलिभा रेस्टुरेन्टमा गएर राम खड्काबाट घुस लिएको र अध्यागमन अधिकृत यज्ञराज अर्याललाई घरमा बोलाएर ८ लाख घुस बाँडफाँड गर्न दिएको अभियोग पत्रमा उल्लेख छ।
अनुसन्धानमा घुसबाट आएको ठूलो रकम भट्टराईले कविता पौडेल र जग्गा कारोबारी खेम प्रसाद सुवेदी मार्फत जग्गामा लगानी गरेको र पौडेल र सुवेदीले घुसको रकम 'लुकाउन/छल्न' सहयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै थप सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको छ।
अख्तियारका अनुसार यो समूहले भिजिट भिसामा जान अनिवार्य गरिएका कागजातहरू (बैंक ब्यालेन्स, होटेल बुकिङ, ५ सय अमेरिकी डलर सटहीको प्रमाण) अध्यागमन प्रणालीमा अपलोड नगरी/नगराई जारी भएको निर्देशनको समेत अवज्ञा गरेर सेटिङमा यात्रुहरूलाई प्रस्थान अनुमति दिने गरेका थिए।
अनुसन्धानमा अख्तियारले केही ठगिएका यात्रुको बयानसमेत समावेश गरेको छ। अनुसन्धानका क्रममा विदेश गएका केही यात्रुहरू (राम चन्द्र रिमाल, चन्द्र माया बल तामाङ, सुनिता ऋषीदेव) ले विदेशमा ठगिएको, यातना भोगेको र भनेजस्तो काम नपाएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको अभियोग पत्रमा देखिन्छ।
राजनीतिक र प्रशासनिक क्षेत्रमा थप अनुसन्धान
भट्टराईको कार्यकालमा भएको संगठित भ्रष्टाचारको जरो गहिरो हुन सक्ने भन्दै अख्तियारले ७ वटा छुट्टै विषयमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। यी अनुसन्धानहरू उच्च राजनीतिक र प्रशासनिक नेतृत्वको संलग्नतामा केन्द्रित छन्।
|
अनुसन्धानको विषय
|
संलग्नताको आशंका
|
|
जोखिमपूर्ण देशमा बेपत्ता यात्रु
|
१,५३,९७४ जना भिजिट भिसामा गएका मध्ये यूएई, ओमान, कतार जस्ता जोखिमपूर्ण देश गएका ४२,३५७ जना (१६,७६९ महिला) लामो समयसम्म स्वदेश नफर्केको अवस्थाको जाँच।
|
|
उच्च राजनीतिक सम्पर्क
|
तत्कालीन गृहमन्त्री, गृह सचिव, अध्यागमन विभागका महानिर्देशक र मन्त्रीका निजी तथा स्वकीय सचिवहरूसँग भट्टराईको अस्वाभाविक सम्पर्क र गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने आशंका।
|
|
Void टिकट प्रयोग
|
ट्राभल एजेन्सीहरूले Void हुने टिकट (एउटै PNR मा दुईवटा नम्बरको टिकट) प्रयोग गर्दा समेत अध्यागमन अधिकृत र ग्राउण्ड ह्यान्डलिङ गर्ने कर्मचारीले प्रस्थान अनुमति दिएकोमा बदनियतको जाँच।
|
|
NOC बिना भारतीय नागरिक
|
नेपालको विमानस्थल प्रयोग गरी तेस्रो देश जाने भारतीय नागरिकहरूलाई दूतावासको नो अब्जेक्सन सर्टिफिकेट (NOC) बिना नै सेटिङमा पठाएको र ठूलो रकम असुली भएको आशंका।
|
|
अन्य अनियमितता
|
ब्ल्याक लिस्टेड व्यक्तिलाई प्रस्थान अनुमति दिनु, वर्किङ भिसा भएकालाई भिजिट भिसामा पठाउनु, र एकै मोबाइल नम्बरबाट १४९ जनासम्मको राहदानी बनेको विषयमा राष्ट्रसेवकहरूको संलग्नता।
|
मंसिर २५, २०८२ बिहीबार १९:१८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।