ईश्वर पोखरेलप्रति ओलीको आक्रोश : उहाँको जिद्दी देख्दा आश्चर्य लाग्यो
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले 'जेनजी आन्दोलन'का विषयमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। बिहीबार सम्पादकहरूसँगको कुराकानीमा उनले बयान सम्बन्धमा पोखरेललगायतका नेताहरूको जिद्दी देखेर आफूलाई आश्चर्य लागेको टिप्पणी गरे।
बुधबार पोखरेलले तत्कालीन प्रधानमन्त्री भएका कारण सरकारप्रति असहमति भए पनि जेनजी आन्दोलनका सम्बन्धमा बयान दिन जानुपर्ने भनेका थिए। सोही विषयको जवाफ दिँदै ओलीले बयान दिने वा नदिने भन्ने विषय आफ्नो व्यक्तिगत निर्णय भएको स्पष्ट पारे।
उनले भने, ‘बयान दिन जाने/नजाने मेरो कुरा हो। के कानूनी व्यवस्था छ, त्यस सम्बन्धमा मैले पनि हेरेको छु। त्यसबापतको सजाय व्यहोर्ने मैले होला नि।’
पोखरेलप्रति लक्षित गर्दै उनले अगाडि थपे, ‘उहाँ के चाहनुहुन्छ भनेर मिडियामा बोलेको कुरा रिपिटेड्ली आइरहेको छ। सुशीला कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्षजी लगायत मेरा मित्रको चाहना त एउटै छ नि।’ अध्यक्ष ओलीले पोखरेल समूहका नेताहरूले बयान दिनुपर्छ भनेर बोल्नुलाई 'वैरभाव' को संज्ञा दिए।
उनले प्रश्न गरे, ‘उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ। वरिष्ठ उपाध्यक्ष किन तातिनु भएको हो ? किन जिद्दी गर्नु भएको हो थाहा भएन।’
आफूलाई जनताको माया रहेको उल्लेख गर्दै उनले विरोधीहरूले जति लखेटे पनि फरक नपर्ने जिकिर गरे। आफू हावा भरेको भकुन्डोजस्तै रहेको उल्लेख गर्दै ओली भने, ‘हुन त सिद्धाइसकियो भन्ठान्छन्, तर म हावा भरेको भकुन्डोजस्तै हो। जति जोडले पछार्यो त्यति माथि पुग्छ।’
मंसिर २५, २०८२ बिहीबार १५:०५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।