सुप्रिम सहकारी प्रकरण : रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पनि सुनुवाइ स्थगित
बुटवल : सहकारीको रकम अपचलन र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा आज पनि सुनुवाइ स्थगित भएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आजका लागि तोकिएको पेसी ‘हेर्न नमिल्ने’ भन्दै सारिएको हो। लामिछाने र जोशीको मुद्दाको सुनुवाइ न्यायाधीशहरू तेजनारायण सिंह राई र सागर विष्टको ४ नम्बर इजलासमा तोकिएको थियो।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार इजलासका न्यायाधीश र जाहेरवाला पक्षका कानुन व्यवसायीबीच चिनजान वा पूर्वसहकार्य रहेको कारण देखाउँदै पेशी सारिएको हो।
यसअघि पनि लामिछाने पक्षका कानुन व्यवसायीहरूको निवेदनका कारण दुईपटक बहस स्थगित भइसकेको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले गरेको थुनछेक आदेशविरुद्ध लामिछाने उच्च अदालत पुगेका हुन्।
जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई धरौटी वा बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ।
लामिछानेले उक्त रकमको चार भागको एक भाग अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गर्दा पनि जिल्ला अदालतले त्यसलाई स्वीकार नगरी पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो।
सोही आदेश बदरको माग गर्दै लामिछानेले गत भदौ ९ गते उच्च अदालतको बुटवल इजलासमा निवेदन दर्ता गराएका थिए। तर, पटक-पटक पेशी सर्दा उनको मुद्दाको टुंगो लाग्न सकेको छैन।
मंसिर २५, २०८२ बिहीबार १४:०१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।