अमेरिकामा ग्रीन कार्डभन्दा बढी सुविधा भएको ट्रम्प गोल्ड कार्ड सुरू, विद्यार्थी र व्यवसायीलाई सहज

अमेरिकामा ग्रीन कार्डभन्दा बढी सुविधा भएको ट्रम्प गोल्ड कार्ड सुरू, विद्यार्थी र व्यवसायीलाई सहज

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बहुप्रतिक्षित ‘ट्रम्प गोल्ड कार्ड’ कार्यक्रमको औपचारिक घोषणा गरेका छन्। ग्रीन कार्डभन्दा बढी सुविधा र अधिकार प्रदान गर्ने दाबी गरिएको यो कार्यक्रम बुधबारदेखि नै लागू भएको छ।

ह्वाइटहाउसमा आयोजित कार्यक्रममा ट्रम्पले महंगो शुल्क तिर्न सक्ने विदेशी नागरिक र कम्पनीहरूलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरेका हुन्।

यस योजनाअनुसार अब विदेशी नागरिकले १० लाख अमेरिकी डलर शुल्क तिरेर आफ्नो भिसा आवेदनलाई फास्ट ट्रयाकमा लैजान सक्नेछन्।

त्यस्तै, अमेरिकी कम्पनीहरूले २० लाख अमेरिकी डलर तिरेर आफ्नो आवश्यकताअनुसार विदेशी कामदारलाई स्पोन्सर गर्न सक्ने व्यवस्था गरिएको छ।

राष्ट्रपति ट्रम्पका अनुसार गोल्ड कार्ड केही हदसम्म ग्रीन कार्डजस्तै भए पनि यसले वाहकलाई धेरै अतिरिक्त अधिकार र सुविधाहरू प्रदान गर्नेछ।

उनले भने, ‘हामीले भर्खरै ट्रम्प गोल्ड कार्ड सुरु गरेका छौँ। यसबाट उठ्ने सबै रकम अमेरिकी सरकारको कोषमा जम्मा हुनेछ।’

यो कार्यक्रमले अमेरिकाको राजस्वमा अर्बौं डलर योगदान पुर्याउने विश्वास ट्रम्पले व्यक्त गरेका छन्।

यसअघि गत फेब्रुअरीमा ट्रम्पले गोल्ड कार्डको मूल्य ५० लाख डलर प्रस्ताव गरेका थिए, जसले ग्रीन कार्डका सुविधासहित अमेरिकी नागरिकताको बाटो पनि खोल्ने बताइएको थियो।

तर, अन्तिम कार्यान्वयनमा शुल्क घटाएर १० लाख र २० लाख डलर कायम गरिएको छ।

विशेषगरी अमेरिकी विश्वविद्यालयबाट स्नातक गरेका प्रतिभाशाली विद्यार्थीहरू भिसा समस्याका कारण स्वदेश फर्किनुपर्ने बाध्यतालाई यो कार्डले अन्त्य गर्ने ट्रम्पको दाबी छ।

‘एप्पलका टिम कूकजस्ता उद्योगीहरूले दक्ष जनशक्ति गुमाउनुपरेको गुनासो गर्दै आएका थिए, अब त्यो समस्या समाधान हुनेछ,’ ट्रम्पले भने, ‘कम्पनीहरूले यो कार्ड खरिद गरेर स्नातक भएका विद्यार्थीलाई अमेरिकामै राख्न सक्नेछन्। अब भारत, चीन, फ्रान्स वा अन्य देशका विद्यार्थीले अमेरिका छोड्नुपर्दैन।’

ट्रम्पले गत सेप्टेम्बरमा नै यसको कार्यान्वयनका लागि कार्यकारी आदेश जारी गरेका थिए। यो नयाँ व्यवस्थाले धनी आप्रवासीहरूलाई अमेरिका आकर्षित गर्ने र अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने ह्वाइटहाउसको अपेक्षा छ।

मंसिर २५, २०८२ बिहीबार १३:२५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।