फिल्म ‘धुरन्धर’को तारिफ गर्दा ऋतिक रोशन विवादमा, ट्रोल भएपछि यसरी बदले कुरा
एजेन्सी : हालै रिलिज भएको बलिउड फिल्म ‘धुरन्धर’ अहिले चर्चामा छ। विशेषगरी अभिनेता अक्षय खन्नाको दमदार अभिनयका कारण फिल्मले निकै प्रशंसा बटुलिरहेको छ।
यसै क्रममा बलिउड अभिनेता ऋतिक रोशनले पनि फिल्म हेरेपछि आफ्नो प्रतिक्रिया दिएका छन्, तर उनको एउटा भनाइले सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको छ। ऋतिक रोशनले फिल्मको निर्माण पक्ष, अभिनय र अन्य प्राविधिक पक्षको खुलेर तारिफ गरे। तर, उनले फिल्मको ‘राजनीतिक सन्देश’का विषयमा दिएको अभिव्यक्तिले धेरैको ध्यान खिच्यो।
ऋतिक रोशनले आफ्नो इन्स्टाग्राम स्टोरीमा फिल्म ‘धुरन्धर’ को पोस्टर शेयर गर्दै लेखेका थिए, ‘मलाई फिल्मको कथा भन्ने शैली निकै मन पर्यो। यद्यपि, म यसको राजनीतिसँग असहमत हुन सक्छु र एउटा विश्व नागरिक भएको नाताले हामी फिल्म निर्माताहरूले कस्तो जिम्मेवारी उठाउनुपर्छ भन्ने विषयमा बहस गर्न सक्छु। तर, सिनेमाको एक विद्यार्थीका रूपमा म यो कुरा नकार्न सक्दिनँ कि मलाई यो फिल्म असाध्यै मन पर्यो।’
‘धुरन्धर’ मा प्रस्तुत कथावाचन शैली र विषयवस्तुलाई लिएर दुई धार देखिएको छ। समीक्षक र फिल्म हेर्ने एक तप्काका अनुसार फिल्मले भारत-पाकिस्तानको सम्बन्ध, धार्मिक चरमपन्थ र आतंकवादको चित्रण गर्ने क्रममा अत्यधिक राष्ट्रवादी दृष्टिकोण अपनाएको छ।
फिल्ममा पाकिस्तानी सेना र गुप्तचर संस्थालाई पूर्ण रूपमा खलनायकका रूपमा प्रस्तुत गरिएको छ। यसले राज्य संयन्त्रलाई मात्र नभई निश्चित धर्म र समुदायलाई नै आतंक, हिंसा र कट्टरताको प्रतिरूपको रूपमा चित्रण गरेको आरोप छ।
फिल्मका संवाद र दृश्यहरूमा ‘अल्लाह हु अकबर’, ‘काफिर’ जस्ता धार्मिक अभिव्यक्तिहरूलाई सीधा आतंकवादी क्रियाकलापसँग जोडेर देखाइएको छ। यसले धर्म र हिंसाबीचको सम्बन्धलाई अनावश्यक रूपमा प्रबल बनाएको र मुस्लिम पात्रहरूको प्रतिनिधित्वलाई पूर्वाग्रही ढंगले प्रस्तुत गरेको आलोचना भइरहेको छ।
ऋतिकको यो भनाइ बाहिर आउनेबित्तिकै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई ट्रोल गर्न सुरू गरे। फिल्मको कथावस्तु वा राजनीतिक पृष्ठभूमिसँग ऋतिकले असहमति जनाएको विषयलाई लिएर धेरैले आलोचना गरे।
सामाजिक सञ्जालमा आलोचना र ट्रोलिङ बढ्न थालेपछि ऋतिकले सामाजिक सञ्जाल एक्समा अर्को पोस्ट गरे। यो नयाँ पोस्टमा भने उनले अघिल्लो पोस्टमा उल्लेख गरेको ‘राजनीतिक सन्देश’ वा असहमतिको विषयलाई पूरै हटाए।
दोस्रो पोस्टमा उनले फिल्म र कलाकारको मात्र तारिफ गरेका छन्।
उनले लेखेका छन्, ‘धुरन्धर अझै पनि मेरो दिमागबाट हटिरहेको छैन। आदित्य धर (निर्देशक), तपाईं एक अद्भुत फिल्म निर्माता हुनुहुन्छ। रणवीर- शान्त देखि उग्रतासम्मको यात्रा, कस्तो गज्जबको यात्रा र निरन्तरता। अक्षय खन्ना सधैँ मेरो मनपर्ने अभिनेता हुनुहुन्छ र यो फिल्म त्यसको प्रमाण हो। त्यस्तै अभिनेता आर. माधवन- अद्भुत अभिनय, गरिमा, शक्ति र सम्मान।’
ऋतिकले आफ्नो नयाँ पोस्टमा फिल्मको दोस्रो भागको आफूले व्यग्र प्रतीक्षा गरिरहेको समेत उल्लेख गरेका छन्।
मंसिर २५, २०८२ बिहीबार १२:३८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।