नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, न्यूनतम ५५ देखि अधिकतम ८५ रुपैयाँसम्म
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरूका लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ।
विषम आर्थिक परिस्थितिका बाबजुद कम्पनीले बोनस दरलाई स्थिर राख्दै आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस घोषणा गरेको हो।
गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा नयाँ दर निर्धारण गरिएको कम्पनीले जनाएको छ। यो बोनस दर कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएका सबै प्रकारका बीमालेखहरूमा लागू हुनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण रमण पराजुलीले चुनौतीपूर्ण बजार अवस्थामा पनि कम्पनीले लिएका रणनीतिक निर्णयहरूका कारण बोनस दर स्थिर राख्न सफल भएको बताए। उनले यस उपलब्धिको लागि नियामक निकाय, सञ्चालक समिति, शेयरधनी, कर्मचारी, अभिकर्ता र बीमितहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
कुन योजनामा कति बोनस ?
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न बीमा योजना र अवधिका आधारमा बोनस दर यस प्रकार छ :
सावधिक जीवन बीमालेख : २० वर्ष अवधिसम्मका लागि प्रतिहजार ६० रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ र २६ वर्षभन्दा माथिको अवधिका लागि ८२ रुपैयाँ।
नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा : २० वर्ष अवधिसम्म ६५ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ र २६ वर्षभन्दा माथिका लागि ८२ रुपैयाँ।
जीवन समुन्नत : २० वर्ष अवधिसम्म ५६ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ६० रुपैयाँ र २६ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ।
सुनौलो भविष्य जीवन बीमा (विकल्प १/२) : १९ वर्ष अवधिसम्म ६० रुपैयाँ, २० देखि २५ वर्षसम्म ६२ रुपैयाँ र २६ वर्षभन्दा माथिका लागि ६५ रुपैयाँ। (यसै योजनाको एकल बीमाशुल्क तर्फ भने क्रमशः ५५, ५७ र ६० रुपैयाँ कायम गरिएको छ।)
केटाकेटी सुनौलो भविष्य (नियमित र एकल दुवै) : १९ वर्ष अवधिसम्म ६० रुपैयाँ र २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ।
जीवन साहारा र अनमोल जीवन (सावधिक तथा आजीवन) : २० वर्ष अवधिसम्म ६० रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ र २६ वर्षभन्दा माथिका लागि ८२ रुपैयाँ।
अग्रिम भुक्तानी योजनाहरू :
जीवन समृद्धि : १५ र २० वर्षे अवधिका लागि समान ५६ रुपैयाँ।
धन वर्षा, नौलो धन वर्षा, जीवन उन्नति, छोराछोरी, सदाबहार जीवन र नौलो जीवन समृद्धि : सबै अवधिका लागि समान ५६ रुपैयाँ।
जीवन सारथी : २० वर्ष अवधिसम्म ६२ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ र २६ वर्षभन्दा माथिका लागि कम्पनीकै सर्वाधिक ८५ रुपैयाँ बोनस दर कायम गरिएको छ।
मंसिर २५, २०८२ बिहीबार ११:२३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।