कांग्रेसमा पुरानै अनुहारको हालीमुहाली : लुम्बिनीबाट चार जना एकल सिफारिस, रुपन्देही-५ मा विवाद

कांग्रेसमा पुरानै अनुहारको हालीमुहाली : लुम्बिनीबाट चार जना एकल सिफारिस, रुपन्देही-५ मा विवाद

बुटवल : सुशासनको माग गर्दै भएको जेन-जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन तय गरेको छ।

मुलुकमा राजनीतिक पुस्तान्तरण र नयाँपनको बहस चलिरहँदा नेपाली कांग्रेसको उम्मेदवार छनोट प्रक्रियाले भने निराशाजनक सन्देश दिएको छ।

लुम्बिनी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट भएका सिफारिसहरू हेर्दा कांग्रेसले फेरि पनि टेस्टेड र पटक-पटक अवसर पाएका पुरानै अनुहारलाई अघि सार्ने संकेत देखिएको छ।

नेपाली कांग्रेसको विधान र केन्द्रको परिपत्रले हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। तर, लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरूले केन्द्रको निर्देशनलाई लत्याउँदै एकल सिफारिस गरेका छन्।

हालसम्म लुम्बिनीबाट चार जनाको नाम एकल सिफारिस भएको छ। रुपन्देही क्षेत्र नं. ५ बाट पूर्वलेखा समिति सभापति भरतकुमार शाह, कपिलवस्तु क्षेत्र नं. ३ बाट वीरेन्द्रप्रसाद कानोडिया, रुपन्देही क्षेत्र नं. ४ बाट प्रमोद यादव र पाल्पा क्षेत्र नं. १ बाट सन्दीप रानाको नाम एकल सिफारिसमा परेको हो।

सिफारिस भएकामध्ये सन्दीप राना अन्य सबै पुराना र पटक-पटक परीक्षण भइसकेका नेता हुन्। राना लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तथा अन्तर्राष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन्।

पराजित अनुहारकै पुनरागमन
रोचक त के छ भने, सिफारिसमा परेका अधिकांश नेताहरू गत निर्वाचनमा पराजित अनुहार हुन्। रुपन्देही-५ बाट एकल सिफारिस भएका भरतकुमार शाह गत निर्वाचनमा एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए।

त्यस्तै, रुपन्देही-४ का प्रमोद यादव पनि गत चुनावमा सर्वेन्द्रनाथ शुक्लासँग हारेका थिए। कपिलवस्तुका वीरेन्द्रप्रसाद कानोडिया लामो समयदेखि संसदीय राजनीतिमा छन्। युवा पुस्ताको विद्रोहपछि हुने निर्वाचनमा पनि कांग्रेसले उनीहरूलाई नै निर्विकल्प ठान्नुले पार्टीभित्र नेतृत्व हस्तान्तरणको मुद्दा ओझेलमा परेको प्रष्ट हुन्छ।

राजनीतिक नैतिकताको प्रश्नलाई किनारा लगाउँदै कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि उम्मेदवारका लागि सिफारिस गरेको छ। रुपन्देही क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिले खाँणको नाम पहिलो नम्बरमा राखेर जिल्ला कार्यसमितिमा पठाएको हो।

खाँण गत निर्वाचनमा राप्रपाका दिवंगत नेता दीपक बोहोरासँग पराजित भएका थिए। समितिले खाँणसँगै सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम पनि सिफारिस गरेको छ।

त्यस्तै, रुपन्देही क्षेत्र नं. २ बाट चुन्न पौडेल, प्रकाश राना, युवराज गिरी, कुमार केसी र प्रजापाल गिरीको नाम सिफारिस भएको छ भने बर्दिया-१ बाट लगातार तीन पटक सांसद भइसकेका सञ्जयकुमार गौतमसहित चार जनाको नाम सर्वसम्मत सिफारिस गरिएको छ।

रुपन्देही-५ मा संस्थापन र इतर पक्षबीच रस्साकस्सी
उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर रुपन्देही क्षेत्र नं. ५ मा भने कांग्रेसभित्रको गुटबन्दी छताछुल्ल भएको छ। संस्थापन पक्षले एकलौटी रूपमा पूर्व अर्थ राज्यमन्त्री भरतकुमार शाहको नाम एकल सिफारिस गरेपछि इतर (डा. शेखर कोइराला) समूहले विद्रोह गरेको छ।

शाहको एकल सिफारिस प्रक्रिया विधानविपरीत भएको भन्दै इतर समूहले युवा नेता विष्णु पोखरेलसहित तीन जनाको छुट्टै नामावली केन्द्रमा पठाएको छ। विद्रोही पक्षले पोखरेलसहित महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सचिव कमल प्रकाश भुषाल र महाधिवेशन प्रतिनिधि लीलाकुमारी पौडेलको नाम सिफारिस गरेको हो।

क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले संस्थापन पक्षले आफू अनुकूलका प्रतिनिधिलाई मात्र बैठकमा बोलाएको र फरक मत राख्ने नेताहरूलाई बैठकबाट निकालेर एकलौटी निर्णय गरेको आरोप लगाए।

‘हाम्रो उपस्थिति बिना नै भरतकुमार शाहलाई एकल सिफारिस गरियो, यो मान्य छैन’, शर्माले भने।

स्मरण रहोस्, वैकल्पिक उम्मेदवारका रूपमा अघि सारिएका विष्णु पोखरेलले गत निर्वाचनमा वाम गठबन्धनका कारण उम्मेदवारी फिर्ता लिएका थिए। यद्यपि, उनलाई गत निर्वाचनमा अन्तर्घात गरेको भन्दै अनुशासनको कारबाहीका लागि सिफारिस समेत गरिएको थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिले मंसिर १५ गते बैठक बसी मंसिर २६ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो। केन्द्रले लोकतान्त्रिक अभ्यासका लागि तीन जनाको नाम पठाउन भने पनि जिल्लाका प्रभावशाली नेताहरूले आफ्नो शक्ति प्रयोग गर्दै एकल नाम सिफारिस गराउने प्रवृत्ति देखिएको छ।

मंसिर २५, २०८२ बिहीबार १०:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।