डेढ घण्टादेखि अवरुद्ध रहेको फेसबुकको वेब भर्सन सञालनमा
काठमाडौं : विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको वेब भर्सनमा देखिएको समस्या समाधान भएको छ।
करिब डेढ घण्टादेखि अवरुद्ध रहेको फेसबुकको वेब भर्सन अहिले पुनः सञ्चालनमा आएको हो।
बिहीबार केही समययता कम्प्युटर तथा ल्यापटपको ब्राउजरबाट फेसबुक खोल्न खोज्दा प्रयोगकर्ताहरूले समस्या भोगिरहेका थिए।
फेसबुकको होमपेज खोल्दा ‘This page isn’t working’ भन्ने सन्देशसहित ‘HTTP ERROR 500’ को कोड देखिइरहेको थियो।
रोचक कुरा के थियो भने, यो समस्या केवल वेब ब्राउजरमा मात्र देखिएको थियो।
एन्ड्रोइड तथा आईओएस मोबाइल एप प्रयोगकर्ताहरूले भने यस अवधिमा कुनै पनि रोकावट बिना फेसबुक चलाइरहेका थिए।
मोबाइल एपमा न्युज फिड रिफ्रेस हुने, म्यासेज जाने र नोटिफिकेसन आउने क्रम चलिरहेको थियो।
वेबसाइटहरूमा आउने समस्या ट्रयाक गर्ने ‘डाउन डिटेक्टर’को तथ्याङ्क अनुसार पनि पछिल्लो केही घण्टाको ग्राफमा एक्कासी उकालो लागेको देखिएको थियो।
प्रयोगकर्ताहरूले फेसबुक लगइन गर्न नमिलेको, फिड लोड नभएको जस्ता समस्या रिपोर्ट गरेका थिए।
एक्कासी ल्यापटप र कम्प्युटरमा फेसबुक नखुल्दा कार्यालयमा काम गर्ने तथा डेस्कटप प्रयोगकर्ताहरू अन्योलमा परेका थिए।
धेरैले सुरुमा आफ्नो इन्टरनेट कनेक्सनमा समस्या आएको अनुमान गरे पनि मोबाइलमा फेसबुक चलिरहेको देखेपछि यो फेसबुककै सर्भरको आन्तरिक समस्या भएको बुझिएको थियो।
अहिले भने वेब भर्सन पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र प्रयोगकर्ताले सहज रूपमा लगइन गर्न सकिरहेका छन्।
मेटाले भने यस प्राविधिक गडबडीको कारणबारे आधिकारिक रूपमा केही बताएको छैन।
मंसिर २५, २०८२ बिहीबार ०८:४५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।