एनपीएलका दर्शकमाथि क्यानको ‘प्रिमियम’ ठगी, रातारात दोब्बर बनाइयो टिकट मूल्य

एनपीएलका दर्शकमाथि क्यानको ‘प्रिमियम’ ठगी, रातारात दोब्बर बनाइयो टिकट मूल्य

काठमाडौं : नेपाली क्रिकेट इतिहासकै भव्य मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) अहिले रोमाञ्चक मोडमा छ।

तर, मैदानभित्र खेलाडीले बगाएको पसिना र प्याराफिटमा दर्शकले देखाएको प्रेमलाई नेपाल क्रिकेट संघ (क्यान)ले पैसा छाप्ने मेसिनको रूपमा प्रयोग गर्न थालेको छ।

पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै छ छुट’ भन्ने गीतको चरितार्थमा उत्रिएको छ क्यान अहिले। क्रिकेटको क्रेजलाई क्यास गर्न क्यानले रातारात जुन हर्कत गरेको छ, त्यो केवल व्यापार मात्र होइन, ‘लुट’ हो।

बिहीबार दोस्रो क्वालिफायर खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन्। तर, खेलअघि क्यानले आफ्नो नियत दर्शकमाझ छर्लङ्ग पारेको छ। बुधबारसम्म जुन प्याराफिटको टिकट काटेर दर्शकले १ हजार रुपैयाँमा खेल हेरे, बिहीबार त्यही प्याराफिटमा बस्न दर्शकले २ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ।

जनरललाई ‘प्रिमियम’को लेबल
क्यानले बिहीबारदेखि लागू हुने गरी टिकटको मूल्य दोब्बर बनाएको मात्र छैन, जनरल प्याराफिटलाई रातारात प्रिमियम घोषणा गरेर दर्शकको आँखामा छारो हाल्ने प्रयास गरेको छ।

बुधबारसम्म जनरल मानिएका सिद्धार्थ जोन, एनसेल जोन र रेडबुल जोनमा बिहीबार के त्यस्तो चमत्कार भयो, जसले गर्दा ती स्थान प्रिमियम बने? के त्यहाँका दर्शकलाई खानपिनको व्यवस्था गरियो? वा यो जाडोमा शीत छेक्ने छाना हालियो? केही पनि गरिएन।

सुविधा उही, सास्ती उही, शीतको चिसो उही, तर दाम भने दोब्बर। अझ एनसेल जोनको केही भागबाट त साइट स्क्रिनले छेकेर मैदानको पूरा दृश्य समेत देखिँदैन। दृश्य नै पूरा नदेखिने ठाउँलाई प्रिमियम भन्नु क्यानको लज्जास्पद ठगी बाहेक केही होइन।

यसअघि चोभार जोनलाई मात्र प्रिमियम मानिँदै आएको थियो। तर, भिड बढ्ने देखेपछि सामान्य प्याराफिटलाई नै प्रिमियमको नाम दिएर २ हजार असुल्नु बेइमानी हो।

विज्ञप्तिको अपव्याख्या र क्यानको झुट
हामीले यहाँ संलग्न गरेको कात्तिक २७ गतेको क्यानको प्रेस विज्ञप्तिलाई राम्रोसँग नियाल्यौँ भने क्यानको बदमासी अझ प्रष्ट हुन्छ।

विज्ञप्तिमा स्पष्ट भनिएको छ- ‘प्लेअफ र फाइनलका लागि जनरल टिकटको मूल्य रु. १००० र प्रिमियम टिकटको मूल्य रु. २००० हुनेछ।’

विज्ञप्तिमा कतै पनि लिग चरणमा जनरल रहेका जोनहरू प्लेअफमा पुगेपछि प्रिमियममा परिणत हुनेछन् भनिएको छैन।

विज्ञप्ति अनुसार नै प्लेअफमा जनरलको मूल्य ५ सयबाट बढेर १ हजार बनाएको क्यानले हिजोसम्म जनरल भनिएका सिद्धार्थ, एनसेल र रेडबुल जोनलाई आज जबरजस्ती प्रिमियमको ट्याग भिडाएर २ हजार असुल्नु सरासर धोका हो।

क्यानका प्रवक्ता छुम्बी लामाको तर्क झनै हास्यास्पद छ। उनले ‘प्रेस विज्ञप्तिमै प्लेअफको खेलको लागि प्रिमियम जोनको मूल्य दुई हजार बनाउने भनिएको’ दाबी गरे। तर, उनले हिजोसम्मका जनरल जोन आज कसरी प्रिमियम भए भन्नेबारे बताउन सकेनन्।

जोन १, २ र ३ लाई जनरलमा राखेर बाँकीलाई महँगो बनाउनु भनेको ‘जता भिड लाग्छ, त्यतै लुट्ने’ नीति सिवाय केही देखिँदैन।

नेपाली क्रिकेट दर्शकहरू भावुक छन्। उनीहरू महँगो टिकट काटेरै भए पनि आफ्नो टिम र खेलाडीलाई समर्थन गर्न पुग्छन्। तर, क्यानले दर्शकको यही कमजोरी र साथलाई कमाउने धन्दा बनाउनु दुःखद छ।

सुविधा थप नगरी केवल खेलको महत्त्व बढेको नाममा टिकटको क्लास नै परिवर्तन गर्नु उपभोक्ता अधिकारको पनि हनन हो। बुधबारको खेल र बिहीबारको खेलमा मैदान उही हो, प्याराफिट उही हो र हेर्ने तरिका उही। फरक केवल यति हो- क्यानको लोभ।

मंसिर २५, २०८२ बिहीबार ०८:०९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।