एनपिएलमा म्याच फिक्सिङ गराउन आएका दिलप्रीतको बयान : पाँच खेलाडीलाई प्रस्ताव, एक जनासँग मिटिङ

एनपिएलमा म्याच फिक्सिङ गराउन आएका  दिलप्रीतको बयान : पाँच खेलाडीलाई प्रस्ताव, एक जनासँग मिटिङ

काठमाडौं : नेपाल प्रिमियर लिगको खेलमा मिलेमतो गराएर अनलाइन जुवाबाट पैसा कमाउने योजनासहित नेपाल आएका दिलप्रित सिंहले जनकपुर बोल्ट्सका एक खेलाडीसहित अन्य चार खेलाडीलाई समेत भेट्ने प्रयास गरेको खुलेको छ।

उनको बयानमा उनले पाँच जना खेलाडीलाई इन्टाग्राममा मेसेज पठाएको तर जनकपुर बोल्ट्सका एक खेलाडीले मात्र रिप्लाई दिएपछि उनलाई भेटेर रनआउट भएबापत पाँच करोडसम्म दिने प्रलोभन दिएको खुलाएका छन्।

जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रमा उल्लेख बयान अनुसार उनले पाँच करोडको प्रस्ताव गरे पनि जनकपुर बोल्ट्सका खेलाडीले भने स्वीकार गरेनन्। उनले प्रहरीमा खबर गरेपछि उनी र उनको सहयोगी नेपाली युवती समेत पक्राउ परेका थिए।

मुख्य योजनाकार दिलप्रीतको बयान

मैले आफ्नो ८ कक्षा सम्मको पढाई भारतको जिविएम स्कुल र ९ कक्षा देखि १२ कक्षा सम्मको पढाई भारतकै एनडी भीम स्कुलमा पुरा गरेँ। अहिले संगम टेक्सटाईलबाट कपडा सम्बन्धी व्यापार गर्छु।

रेविका सिंह ठकुरीलाई साथी मन्दीप चौहानमार्फत करिब १ वर्ष अगाडि चिनेको हुँ। उनीसँग कुराकानी हुने क्रममा अस्पतालको फार्मेसीमा काम गर्छु भनेकी थिइन्। पछि उनीसँग मिलेर बेटिङ वेभसाइटहरुमा सट्टाबाजी खेल्न थालेको हुँ। उनलाई सट्टाबाजी गर्न पनि सिकाएँ। उनलाई मन्दीपले पनि सिकाएका थिए।

नेपालमा एनपिएल हुने थाहा पाएपछि भारतमा बस्दा जुवा खेल्ने साइडहरूबाट राम्रो कमाउने योजनामा दुवै जना नेपालमा आयौँ। एनपिएल हेर्न टीयूको ग्राउन्डमा जाँदा जनकपुर बोल्ट्सको खेल थियो। एक खेलाडीलाई प्रभाव पारेर म्याच फिक्सिङ गराएर कमाउने योजना बनायौँ।

जनकपुर बोल्ट्सका खेलाडीलाई प्रलोभनमा पारेर रन आउट हुन प्रस्ताव गर्न रेविकाको ईन्स्टाग्राम आइडी खोलेर ती खेलाडीलाई म्यासेज पठायौँ। “Can you share your contact number? Or can you meet when you are free as we will discuss about the things. It will be beneficial for both of us..” भनेर पठाएको मेसेजको रिप्लाई आएपछि कुरा गर्न थाल्यौँ।

त्यसपछि अन्य ४ जना खेलाडीलाई समेत म्यासेज पठायौँ। अन्य अन्यले रिप्लाई दिएनन्। पछि ती खेलाडीसँग ह्वाट्सएमा कुराकानी हुन थाल्यो। भेटेर छलफल गर्ने सहमति भएपछि हामीहरू उनी बस्ने लाजिम्पाटमा रहेको होटेल दुसितप्रिन्समा गयौँ।

होटेलको लब्बीमै छलफल गर्ने कुरा भएकाले त्यहीँ बस्यौँ। सुरुमा ४ देखि ५ लाख दिने कुरा गर्दा उनले मानेनन्। अनि रकम बढाउँदै १ करोडदेखि ५ करोडसम्मको अफर गर्यौँ। मैले के कसरी रन आउट हुने भनेर सिकाएको पनि थिएँ।

यसरी आउट हुँदा कुनै नोक्सान नहुने भन्दै रनआउट हुनुभन्दा अगाडि भने संकेत दिनुपर्ने सर्त राखेको थिएँ। खेलाडीले मानेमा उनी रन आउट हुने ओभरको बलमा अनलाइन बेटिङ साइटमा ठूलो बाजी थाप्ने र त्यो जितेपछि पैसा दिने योजना बनाएको थिएँ।

तर उनले मानेनन्। उनले प्रहरीलाई खबर गरिदिएछन्। त्यसपछि हामी पक्राउ पर्यौँ। यसमा म र रेविकाबाहेक अन्य संलग्न छैनन्।

सम्बन्धित समाचार

 

मंसिर २४, २०८२ बुधबार १७:०७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।