ईश्वर पोखरेल भन्छन् “एमाले अध्यक्षमा उम्मेदवारी 'झोकमा दिएको हैन”
काठमाडौं : एमालेको आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा लहड वा 'झोकमा' नगरेको बताए।
बुधवार केही सम्पादकहरूसँगको अन्तरक्रियामा उनले आफ्नो उम्मेदवारी कुनै झोकमा घोषणा नगरिएको बताए। उनले वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गरेर नै पार्टी कार्यालयमा औपचारिक रूपमा अध्यक्षमा उम्मेदवारी दर्ता गरेको बताए।
उनले पार्टीमा विचारभन्दा पनि कार्यसम्पादन शैली कमजोर हुँदै गएकाले समस्या आएको बताए। प्रारम्भमा पार्टीको विचारबारे विवाद नभएको तर, पार्टी जीवनमा कार्यशैली त्रुटिपूर्ण हुँदा विचार नागरिकसम्म पुर्याउन समस्या भएको उनको तर्क थियो।
पोखरेलले पार्टी जीवनमा लोकतन्त्र र सामूहिक नेतृत्व प्रणालीको महत्त्वपूर्ण भएको बताउँदै सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगरी कुनै पनि दल अझ कम्युनिस्ट पार्टी चल्न नसक्ने बताए।
"सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगर्ने हो भने कुनै पनि दल अझ कम्युनिस्ट पार्टी चल्न सक्दैन। विधि र पद्धतिबाट चल्नुपर्ने आवश्यकता छ," पोखरेलले भने, "सामूहिक नेतृत्वलाई अगाडि बढाइएन भने पार्टी चल्न सक्दैन। सामूहिक नेतृत्व प्रणाली कमजोर बन्यो भने पार्टी रहँदैन।"
मंसिर २४, २०८२ बुधबार १६:१२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।