पारिश्रमिक ठगीको मारमा एलिना र अन्जु पन्त : सामाजिक सञ्जालमै आक्रोश पोख्दै भने- ‘बिचौलियाले भुँडी फुलाए’

पारिश्रमिक ठगीको मारमा एलिना र अन्जु पन्त : सामाजिक सञ्जालमै आक्रोश पोख्दै भने- ‘बिचौलियाले भुँडी फुलाए’

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित गायिका एलिना चौहान र अन्जु पन्तले आफूले काम गरेबापतको पारिश्रमिक नपाएको र बिचौलियाले दुःख दिएको भन्दै सार्वजनिक रूपमै आक्रोश पोखेका छन्।

स्टेज कार्यक्रम र रेकर्डिङमा व्यस्त रहने यी दुई गायिकाले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा बाहिर ल्याएका हुन्।

पछिल्लो समय देश-विदेशका मेला महोत्सवमा सर्वाधिक माग भएकी गायिका एलिना चौहानले आफ्नो मेहनतको कमाइ बिचौलियाले खाने गरेको गुनासो गरेकी छन्।

मंसिर २२ देखि पुस २० गतेसम्मको आफ्नो व्यस्त तालिका सार्वजनिक गरेकी एलिनाले कलाकार मिलाइदिने बहानामा बिचौलियाले रकम लुटेको आरोप लगाइन्।

आक्रोशित हुँदै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कलाकारको दुःख-मेहनतको पैसा बीचमै खाएर भुँडी फुलाउनेहरू बाहिर आउनुपर्छ। दुःख गर्ने कालु, मकै खाने भालु।’

केही महिनाअघि अमेरिकाको सांगीतिक कार्यक्रममा आयोजकले अमानवीय व्यवहार गरेको भन्दै चर्चामा आएकी एलिना पुनः एकपटक व्यवस्थापकीय कमजोरी र आर्थिक शोषणको विरुद्ध बोलेकी हुन्।

एलिनाले आवाज उठाएको तीन दिनपछि वरिष्ठ गायिका अन्जु पन्तले पनि उस्तै पीडा पोखेकी छन्।

आर्थिक मामिलामा विरलै बोल्ने शालीन स्वभावकी पन्तले सांगीतिक क्षेत्रकै एक ‘नाम चलेका’ व्यक्तिले ५ महिनादेखि पैसा नदिएको खुलासा गरेकी छन्।

१५ दिनमा दिन्छु भनेर लगेको रकम महिनौं बित्दा पनि नपाएपछि उनले अब तस्बिर र भिडियोसहित भण्डाफोर गर्ने र कानुनी बाटोमा जाने चेतावनी दिएकी छन्।

पन्तले लेखेकी छन्, ‘अझै भाका राख्न छोडेका छैनन्। आज पनि भाका नै राखेका छन्। अब के गरौँ? नाम, फोटो, भिडियो सार्वजनिक गरी कानुनी कारवाहीमा जानै पर्ने बाध्यता होला जस्तो छ। त्यो अवस्था नआओस्।’

नेपाली सांगीतिक क्षेत्रमा पारिश्रमिक नपाउने वा ढिलो पाउने समस्या नौलो भने होइन। यसअघि नृत्य निर्देशक गम्भीर विष्टले पनि निर्माताहरूबाट २-३ वर्षदेखिको पारिश्रमिक उठाउन बाँकी रहेको गुनासो गरेका थिए।

काम लगाउने तर पैसा माग्दा झुलाउने र ‘दिन्छु’ भन्दै आलटाल गर्ने प्रवृत्तिले कलाकारहरू आजित बन्ने गरेका छन्।

मंसिर २४, २०८२ बुधबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।