एकाधिकारको आरोपबीच इन्डिगोलाई १० प्रतिशत उडान कटौती गर्न भारत सरकारको निर्देशन
एजेन्सी : भारतको घरेलु उड्डयन क्षेत्रमा एकाधिकारको आरोप र बढ्दो व्यवस्थापकीय कमजोरीका बीच सरकारले इन्डिगो एयरलाइन्सलाई आफ्ना उडानहरूमा १० प्रतिशत कटौती गर्न निर्देशन दिएको छ।
मंगलबार केन्द्रीय उड्डयन मन्त्री राम मोहन नायडुले सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै भने, ‘उडान रद्द हुने समस्या कम गर्न र सेवालाई स्थिर बनाउन मन्त्रालयले इन्डिगोका रुटहरूमा कटौती आवश्यक ठानेको छ। कम्पनीलाई १० प्रतिशत उडान घटाउन निर्देशन दिइएको छ।’
मन्त्री नायडुले इन्डिगोका सीईओ पिटर एल्बर्सलाई मन्त्रालयमा बोलाएर कम्पनीको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।
सीईओ एल्बर्सले डिसेम्बर ६ सम्म रद्द भएका उडानका यात्रुहरूलाई १०० प्रतिशत रकम फिर्ता गरिसकेको जानकारी दिए। मन्त्रीले बाँकी रहेका रिफन्ड र यात्रुको ब्यागेज सम्बन्धी समस्यालाई तुरुन्त समाधान गर्न निर्देशन दिएका छन्।

यसअघि डिसेम्बर ८ मा उड्डयन महानिर्देशनालयले कम्पनीलाई ५ प्रतिशत उडान कम गर्न भनेको थियो।
महानिर्देशनालयको तथ्याङ्क अनुसार, नोभेम्बर महिनामा इन्डिगोले ६४ हजार ३४६ उडानको अनुमति पाएको भए पनि ५९ हजार ४३८ उडान मात्र सञ्चालन गर्न सक्यो भने ९५१ उडान रद्द भए।
त्यस्तै, ४०३ विमानको अनुमति भए पनि कम्पनीले ३४४ विमान मात्र सञ्चालन गरेको पाइएको छ।
इन्डिगो भारतको सबैभन्दा ठूलो एयरलाइन्स हो, जसले घरेलु बजारको करिब ६५ प्रतिशत हिस्सा ओगटेको छ। यो एयरलाइन्सले दैनिक २३ सयभन्दा बढी उडान भर्छ, जसमा करिब २१ सय ५० घरेलु उडान हुन्छन्।
अब १० प्रतिशत कटौतीको आदेशपछि इन्डिगोको दैनिक घरेलु उडान सङ्ख्या १९ सय ५० भन्दा कम हुनेछ।
इन्डिगोले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो उडान सेवा अब सामान्य र स्थिर अवस्थामा फर्किएको दाबी गरेको छ।
कम्पनीले समयमै उडान भर्ने दर ८० प्रतिशतभन्दा माथि पुगेको र बुधबार करिब १९ सय उडान सञ्चालन गर्ने जनाएको छ।
मंसिर २४, २०८२ बुधबार ०९:३७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।