‘११ वर्षको प्रेमलाई बिर्सेर समाजले हाम्रो छालाको रङ हेरे’

‘११ वर्षको प्रेमलाई बिर्सेर समाजले हाम्रो छालाको रङ हेरे’

एजेन्सी : भारतको जबलपुरमा बस्ने ऋषभ राजपूत र सोनाली चोकसे आफ्नो विवाहको खुसी साटिरहेका थिए, तर अचानक उनीहरू सामाजिक सञ्जालमा चर्चा र आलोचनाको विषय बने।

गत नोभेम्बर २३ मा भएको उनीहरूको विवाहको ३० सेकेन्डको एउटा भिडियो ऋषभकी बहिनीले खिचेकी थिइन्।

दुई दिनपछि यो भिडियो यति भाइरल भयो कि ह्वाट्सएपदेखि मिम पेजसम्म जताततै छायो। तर, भिडियो सेयर गर्नेहरूले उनीहरूलाई बधाई दिइरहेका थिएनन्, बरु उनीहरूको छालाको रङको तुलना गर्दै मजाक उडाइरहेका थिए।

विवाहका रस्महरू चलिरहँदा छिमेकीले आएर ऋषभकी आमालाई भिडियो भाइरल भएको र मिम बनिरहेको सुनाए। सुरुमा उनीहरूले यसलाई सामान्य रूपमा लिए, तर मोबाइल खोलेर कमेन्टहरू पढ्दा उनीहरू छाँगाबाट खसेजस्तै भए।

सोनाली भन्छिन्, ‘त्यो भिडियोमा हाम्रो खुसी प्रस्ट देखिन्थ्यो, तर अनलाइन दुनियाँले हाम्रो ११ वर्षको सपना र प्रेम देखेन। मानिसहरूको ध्यान केवल हाम्रो छालाको रङमा मात्र अडियो।’

धेरैले उनीहरूलाई नमिल्दो जोडी भने। दुलाहा कालो वर्ण र दुलही गोरो भएको भन्दै मानिसहरूले उनीहरूको जोडीलाई ‘अजीब’ भन्न भ्याए।

छालाको रङमा मात्र होइन, मानिसहरूले ऋषभको आर्थिक अवस्थाबारे पनि मनगढन्ते कुरा गरे। कसैले ऋषभ निकै धनी भएको, ५ वटा पेट्रोल पम्प भएको वा मन्त्रीको छोरा भएको कारण सोनालीले बिहे गरेको भन्दै टिप्पणी गरे। सोनालीलाई पैसाको लोभी समेत भनियो।

तर वास्तविकता नितान्त फरक थियो। ऋषभ र सोनाली दुवै स्नातक उत्तीर्ण गरेका हुन् र उनीहरू दुवै एक निजी कम्पनीमा जागिर खान्छन्।

ऋषभ र सोनालीको भेट सन् २०१४ मा कलेजमा भएको थियो। २०१५ मा प्रेम प्रस्ताव स्वीकार गरेपछि उनीहरूले विवाह गर्ने निधो गरेका थिए।

ऋषभ भन्छन्, ‘यो भिडियो ३० सेकेन्डको मात्र होला, तर यो हाम्रो ११ वर्षको संघर्ष र प्रेमको नतिजा हो। हाम्रो सम्बन्ध रङमा होइन, एक-अर्काप्रतिको सम्मान र गुणमा अडिएको छ।’

यो घटनाले समाजमा अझै पनि गोरो रङप्रतिको मोह कति गहिरो छ भन्ने देखाएको छ।

ऋषभ भन्छन्, ‘हाम्रो जस्तो देशमा जहाँ धेरै मानिस गहुँगोरो वा कालो वर्णका छन्, त्यहाँ अझै पनि गोरो रङलाई नै राम्रो मान्नु दुःखद हो। के रङले मान्छेको चरित्र निर्धारण गर्छ?’

सोनाली थप्छिन्, ‘मानिसहरूले हाम्रो रङलाई लिएर किन यति ठूलो मुद्दा बनाए, मैले बुझ्न सकिनँ। सम्बन्धमा सबैभन्दा ठूलो कुरा व्यवहार र इज्जत हो। हामी एक-अर्काको साथमा छौँ र धेरै खुसी छौँ, अनलाइनका ट्रोलहरूले हाम्रो खुसी खोस्न सक्दैनन्।’

बीबीसीमा प्रकाशित स्टोरीको सम्पादनसहित प्रकाशित

मंसिर २४, २०८२ बुधबार ०८:३५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।