गृहमन्त्री अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता: चुनाव र पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता

गृहमन्त्री अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता: चुनाव र पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल-भारत द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो।

भेटका क्रममा अतिरिक्त सचिव महावरले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न भारतको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले निर्वाचनका लागि आवश्यक स्रोत साधन र सुरक्षा निकायलाई चाहिने बन्दोबस्तीका सामग्रीको सुनिश्चितता गर्ने आश्वासन दिएका छन्।

यस्तै, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र विभिन्न विपद्बाट क्षति भएका संरचनाहरूको पुनःस्थापना तथा व्यवस्थापनमा भारतले सघाउने प्रतिबद्धता पनि महावरले जनाएका छन्।

भेटमा गृहमन्त्री अर्यालले दोधारा-चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिनुपर्नेमा चासो व्यक्त गरे। उनले काभ्रेको पनौतीमा निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको कामलाई पनि दुवै पक्षले तीव्रता दिनुपर्ने विचार राखेका थिए।

जवाफमा महावरले भैरहवामा निर्माण हुँदै गरेको एकीकृत जाँच चौकी (आईसीपी) र नेपालमा भारतीय लगानीमा सञ्चालित अन्य परियोजनाहरू समयमै सम्पन्न गर्न सघाउने बताए।

गृहमन्त्री अर्यालले वर्तमान सरकार सुशासन, कानुन कार्यान्वयन र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको बताए।

उनले सीमा क्षेत्रमा हुने अपराध, चोरी डकैती, अवैध व्यापार नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

भेटका क्रममा अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तो समेत दिएका छन्।

आइतबार नेपाल आइपुगेका महावर र गृहमन्त्रीबीचको भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

मंसिर २३, २०८२ मंगलबार १४:०९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।