क्यान्सर जितेर क्रिकेटमा फर्किए निक, बीबीएलमा सिड्नी थन्डरबाट खेल्ने
एजेन्सी : अष्ट्रेलियाका पूर्व टेस्ट ब्याटर निक म्याडिनसनले क्यान्सरलाई जितेर शीर्ष स्तरको क्रिकेटमा पुनरागमन गर्ने भएका छन्।
३३ वर्षीय म्याडिनसनको बिग ब्यास लिग (बीबीएल) मार्फत क्रिकेटमा पुनरागमन गर्न लागेका हुन्। उनलाई सिड्नी थन्डरले आगामी सिजनका लागि अनुबन्ध गरेको छ।
मंगलबार थन्डरका जनरल म्यानेजर ट्रेन्ट कोपल्याण्डले म्याडिनसनसँग एक सिजनका लागि सम्झौता भएको र उनी केही हप्तापछि हुने बीबीएलमा मैदानमा फर्किने घोषणा गरे।
म्याडिनसनले अन्तिम पटक गत मार्चमा न्यु साउथ वेल्सका लागि ‘सेफिल्ड सिल्ड’ म्याच खेलेका थिए। त्यसपछि उनलाई क्यान्सर भएको पत्ता लागेको थियो।
क्यान्सर उनको पेट र फोक्सोमा फैलिएपछि उनले गत जुलाईमा नौ साता लामो किमोथेरापी पूरा गरेका थिए।
उपचार सफल भएपछि म्याडिनसनले हालै ट्रेनिङ सुरु गरेका छन् र सिड्नीमा ‘इस्टर्न सबर्ब्स’का लागि चारवटा क्लब स्तरीय खेल समेत खेलिसकेका छन्।
सिड्नी थन्डरसँगको नयाँ सम्झौतापछि म्याडिनसनले भने, ‘म थन्डरसँग जोडिन पाउँदा धेरै खुसी छु। पछिल्लो समय मैले केही कठिनाइ भोगेँ, तर साथीभाइ, परिवार र क्लबबाट पाएको माया र साथ अविस्मरणीय छ। अब म पूर्ण रूपमा खेलमा ध्यान दिन चाहन्छु र आशा छ, हामी गत वर्षभन्दा राम्रो नतिजा ल्याउनेछौँ।’
म्याडिनसनले सन् २०१६ मा अष्ट्रेलियाका लागि तीन वटा टेस्ट म्याच खेलेका थिए भने सन् २०१८ मा अन्तिम पटक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनले बीबीएल करियर सिड्नी सिक्सर्सबाट सुरू गरेका थिए।
त्यसपछि मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स हुँदै उनी गत सिजन न्यु साउथ वेल्स र सिड्नी थन्डरमा फर्किएका थिए। यद्यपि, हातको चोटका कारण गत सिजन उनले बीबीएल खेल्न पाएका थिएनन्।
थन्डरका जनरल म्यानेजर कोपल्याण्डले म्याडिनसनको पुनरागमनले टिममा ठूलो प्रभाव पार्ने विश्वास गरेका छन्।
मंसिर २३, २०८२ मंगलबार १३:५७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।